मनहरीमा काष्ठ उद्योग एक वर्षदेखि अलपत्र, अध्यक्ष उप्रेतीको सिंहदरबारमा दौडधुप

तु खबर संवाददाता
२०७६ फाल्गुन १६, शुक्रबार १४:२४
५ फागुन २०७५ मा मनहरी–९ ज्यामिरेस्थित मनहरी काष्ठ तथा फर्निचर उद्योगको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडा, १६ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निर्माण भएको मनहरी काष्ठ तथा फर्निचर उद्योग एकवर्षदेखि अलपत्र परेको छ ।

उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेपछि निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको उक्त उद्योग अलपत्र भएको हो ।

विभागले यसभन्दा अगाडि काष्ठ उद्योग डेढ किलोमिटरको दूरीमा राख्नुपर्ने व्यवस्था गरेपनि कामको सहजताका लागि वन क्षेत्रबाट एक किमी दूरीमा राख्ने व्यवस्था मिलाएको थियो ।

मनहरी–९ ज्यामिरेमा गाउँपालिका संरक्षक तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मनहरीको अगुवाईमा उद्योग स्थापना भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गत फागुन ५ गते उद्योग उद्घाटन गर्नु भएको थियो ।

ज्यामिरे कालिका सामुदायिक वन क्षेत्रभन्दा करिब ३ सय मिटरमा निर्माण भएको उद्योग शुभारम्भ भएको एकवर्ष बितिसक्दा पनि दर्ता गर्न सकेको छैन् । दर्ता नभएपछि उद्योगले विद्युत जडान अनुमति पनि पाएको छैन् ।

तर, मनहरी गाउँपालिकाले विभागको यस्तो कानुनी व्यवस्था अनुसार गाउँपालिकामै भूगोल मिलेको जग्गा नभएको दाबी गरेको छ । वन क्षेत्रबाट एक किलोमिटर दुरीमा काष्ठ उद्योग राख्न उपयुक्त जग्गा नभएको गाउँपालिकाकाले जनाएको हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले यस्तो व्यवस्था अनुसार गाउँपालिका भरी वन क्षेत्रको एक किलोमिटर मित्र उद्योग निर्माण गर्न जग्गा नभएको बताउनु भयो ।

ज्यामिरेको ७ कठ्ठा जग्गा भाडा लिएर उद्योगको संरचना, काठ चिरानका उपकरण जडान भइसकेको छ । अब उद्योग सञ्चालन गर्न विद्युत मिटर जडान गर्नमात्रै बाँकी छ । तर, गाउँपालिकाले कानुनी व्यवस्था विपरित उद्योग दर्ता नसकेपछि उद्योग अलपत्र परेको हो ।

मनहरी–९ ज्यामिरेस्थित मनहरी काष्ठ तथा फर्निचर उद्योग शुभारम्भ समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, पुर्व संविधानसभा सदस्य राजाराम स्याङतान, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलगायत ।

‘उद्योगको संरचना, उपकरण जडान भइसक्यो । अब विद्युत मिटर जडान गरेर उद्योग चलाउनमात्रै बाँकी हो । तर, वनको कानुनी व्यवस्थाले १ वर्ष भइसक्यो उद्योग अलपत्र छ ।–’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नु भयो, ‘वनको काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था संशोधन नभएसम्म उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन् ।’

अध्यक्ष उप्रेतीले वन तथा वातावरण मन्त्रालयले काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था सच्याएर दुरी घटाउने आश्वासन दिएपनि उद्योग निर्माण गरिएको बताउनु भयो । उहाँले सुरुवाती चरणमा दुरीको बारेमा थाहा नहुँदा हाल समस्या खेप्नु परेको बताउनु भयो ।

गाउँपालिकाका १० सामुदायिक वनको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत लगानीमा निर्माण सुरु गरिएको उद्योगमा १७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

करिब ५५ लाख रुपैयाँ कुल लागतमा चिरानमात्रै नभई फर्निचरसहितको उद्योग निर्माण गर्ने लक्ष्य राखिएपनि उद्योग सञ्चालनको सुरुवाती चरणमै ठेस लागेको छ । हाल काठ चिरान गर्ने गरी मात्रै उद्योग तयार भएको वन महासंघ मनहरीका अध्यक्ष हिमलाल उप्रेतीले जानकारी दिनु भयो ।

बर्सेनी बढ्दै गइरहेको फर्निचर आयात विस्थापित गर्न प्रत्येक प्रदेशमा ठूला काष्ठ उद्योग स्थापना गर्ने उद्देश्य अनुसार वन तथा वातावरण मन्त्रालयले मनहरीमै काष्ठ उद्योग स्थापना गर्ने निर्णय गरेको थियो । पछिल्लो समय बढ्दै गइरहेको फर्निचरको मागअनुसार उपभोक्तालाई फर्निचरको आपूर्ति व्यवस्थापन सहज गर्न उद्योग निर्माण गरिएको हो ।

दुरी घटाउन सिंहदरबारमा दौडधुप

गाउँपालिका अध्यक्ष उप्रेतीले काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था सच्याएर उक्त दुरी घटाउनको लागि सक्रियता देखाउनु भएको छ ।

उहाँ दुई दिनदेखि उद्योग सञ्चालनमा देखिएको समस्याको गाँठो फुकाउन सिंहदरबारको दौडधुपमा हुनुहुन्छ । उप्रेतीले प्रधानमन्त्रीसँगै दुरी घटाउने विषयमा छलफल गर्न खोजेपनि भेटको लागि समय नमिलेको बताउनु भयो ।

उहाँ हाल दुरी घटाएर उद्योग सञ्चालनमा ल्याउने लक्ष्यसहित काठमाडौंमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पाखरेल, प्रतिनिधिसभा सदस्य तथा अर्थ समिति सभापति कृष्ण प्रसाद दहाल, प्रतिनिधिसभा सदस्य विरोध खतिवडालगायतसँग भेट गर्नु भएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिवसँग भेट गरी दुरी घटाउने सम्बन्धमा छलफल भएको उहाँले जानकारी दिनु भयो । उहाँले तत्कालिन उद्योग मन्त्री मातृका यादवले दुरी घटाउने विषयमा पहल गरेपनि सफल हुन नसकेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*