मकवानपुरमा १ हजार २ सय कक्षाकोठाको निर्माण सकियो

तु खबर संवाददाता
२०७६ फाल्गुन १६, शुक्रबार १२:३२

हेटौंडा, १६ फागुन । २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको मकवानपुरका २ सय ५२ विद्यालयका १ हजार २ सय कक्षाकोठाको निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मकवानपुरले दिएको जानकारी अनुसार भूकम्पले क्षति पुर्‍याएका १ हजार ५ सय कक्षाकोठामध्ये सो संख्याका कक्षाकोठाको निर्माण सम्पन्न भएको हो । थप ३ सय कक्षाकोठा निर्माणाधीन छन् ।

एशियाली विकास बैंक, जापान सहयोग नियोग, अमेरिकी सहयोग नियोगलगायत दातृ संस्थाको सहयोग र नेपाल सरकारको लगानीमा १ हजार ५ सय कक्षाकोठा नयाँ बनिरहेका हुन् । एशियाली विकास बैंकको सहयोगमा बोलपत्र भएर तीन विद्यालयको ४८ ओटा कक्षाकोठा निर्माणाधीन छन् ।

जापान सरकारको ऋण सहयोगमा टेन्डर भएर निर्माणाधीन ४१ विद्यालयका ४६२ कक्षाकोठा, विभिन्न संघसंस्थामार्फत निर्माण भएका र हुने क्रममा रहेका ३० विद्यालयको १ सय ३५ ओटा कक्षाकोठा रहेको एकाइले जानकारी दिएको छ ।

यूएसएडका तर्फबाट ६ विद्यालयको पूर्ण प्याकेजसहित भवन निर्माण हुने र यस आर्थिक वर्षमा निर्माण गरिने छात्रामैत्री ७० ओटा शौचालयमध्ये ७ ओटाको निर्माण सम्पन्न भएको एकाइ प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिनु भयो ।

हालसम्मको निर्माणसम्बन्धी अवस्था र प्रगतिमा भने दुईकोठेतर्फ ७७ ओटा, तीने कोठेतर्फ ३९ ओटा विद्यालयको निर्माण सम्पन्न भएको छ । चारकोठे भवनतर्फ ५६ मध्ये ३५, ६ कोठे भवन १२ मध्ये ११ र आठकोठे भवन ६ मध्ये पाँचओटाको निर्माण सम्पन्न भएको छ ।

गतवर्षको कार्यक्रमको चारकोठे आरसीसी भवन सम्पन्न भएर हस्तान्तरण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ मकवानपुरका प्रमुख पाठकले जानकारी दिनु भयो ।

अघिल्ला दुई आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ का भवन निर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । चालू आर्थिक वर्षसम्ममा विद्यालय व्यवस्थापन समितिमार्फत् निर्माण गरिएका २०७ ओटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको प्रमुख पाठकले बताउनु भयो ।

७० ओटा शौचालय निर्माण पनि आगामी असार मसान्तभित्र सम्पन्न हुनेछ । सम्झौता गरिएका विद्यालयमा प्राविधिक खटाइएको र निर्माणाधीन भवनमा प्राविधिक सहयोग उपलब्ध भएको एकाइले जानकारी दिएको छ ।

एकाइ प्रमुख पाठकका अनुसार विद्यालयको निरन्तर अनुगमन गरी निर्माणमा संलग्न जनशक्ति र व्यवस्थापन पदाधिकारीलाई सहजीकरण गरिएको छ ।

जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालयमध्ये प्रथम प्याकेजका चार विद्यालय देवकी मावि फापरबारी, महेन्द्र मावि भीमफेदी, बागेश्वरी मावि टिस्टुङ देउराली, नेपाल चेम्बर आधारभूत विद्यालय थाहा नगरपालिका र गणेश आधारभूत विद्यालय हेटौंडा निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छ ।

आगामी पुस महीनाभित्र विभिन्न संघसंस्थाको सहयोगमा मकवानपुरमा सबै विद्यालयको कक्षाकोठा नयाँ बनेर हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*