नाकाबन्दी हुँदा नबोल्ने नेपाली कांग्रेसले केकमा राष्ट्रवादी बनेर तमासा देखायो

तु खबर संवाददाता
२०७६ फाल्गुन १५, बिहीबार १९:५१
फाइल तस्बिर

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सवलाई विवादमा ल्याउन खोजिएको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो जन्मदिनमा आफू जन्मिएको घर तेह्रथुम जाँदा त्यहाँका जनता घरमा पानी आएको र बिजुली बलेको खुसीमा नाचेको बताउनु भयो ।

उहाँले आफ्‍नो जन्मदिनमा स्थानीयलाई नाच्न लगाएको भन्ने झूटो प्रचार गरिएको दाबी गर्नु भयो । बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘पानीको धारा खसेको छ। दिदीबहिनीहरु नाचे, त्यसमा किन चिन्तित हुने ? जनता आए, खाना खाए, पत्रकारहरुले भातको हिसाब गरे।’

उहाँले भन्नु भयो, ‘म धेरै वर्षपछि जन्मथलो गएँ। गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दुःखी हुने ?’ यस्तै, उहाँले आफ्नो जन्मदिनमा केक लिएर नगएको बताउनु भयो। उहाँले भन्नु भयो, ‘जनताले खुसी भएर केक ल्याए, मैले नाच भनेको त थिइनँ नि !’

उहाँले प्रमुख प्रतिपक्ष कांग्रेसप्रति पनि तीखो टिप्पणी गर्नु भयो । उहाँले नाकाबन्दी हुँदा, ग्यासको अभावका बेला नाकाबन्दी शब्द पनि ननिकालेको कांग्रेसले केकमा राष्ट्रवादी बनेको भन्दै तमासा देखाएको आरोप लगाउनु भयो ।

संसद्मा बोल्न खोज्दा बोल्न नदिने कांग्रेसले संसंदबाट भाग्यो भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री ओलीको दाबी गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*