सुरुङमार्गमा मकवानपुरबासीको करोडौं लगानी डुब्ने पिरलो
हेटौंडा, ७ फागुन । नेपालकै कोशेढुंगाको रुपमा व्याख्या गरिएको काठमाडौं–कुलेखानी–भीमफेदी सुरुङमार्ग अहिले सपना जस्तै बनिसकेको छ । लगानीकर्तादेखि आमसर्वसाधारणमा सुरुङमार्गको कुरा आउनासाथ शरिरका रौं ठाडा हुन्छन् ।
सुरुङमार्ग भन्ने बितिक्कै कतिपय झसङ्गै हुन्छन, तर्सिन्छन् । किन कि यही सुरुङमार्गमा ऋण काडेर सेयर खरिद गरेकाहरु आफ्नो लगानी डुब्नेमा पिरलिएका छन् । यतिका वर्षसम्म सुरुङमार्ग नबनेपछि मकवानपुरका सर्वसाधारणको करोडौं लगानी बालुवामा पानी खनाएजस्तै भएको यहाँ जनप्रतिनिधिदेखि लगानीकर्ताले गुनासो पोखेका छन् ।
पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) को अवधारणामा निजी क्षेत्रबाट तयार गरिएको नेपालको पहिलो सुरुङमार्गसहितको सडक आयोजना हो–काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग ।
यो ५८ किलोमिटर मार्गमा तीन वटा सुरुङ बनाइने तय भएको थियो । तीमध्ये सबैभन्दा लामो र मुख्य सुरुङ कुलेखानीबाट सुरु भई भिमफेदीमा टुङ्गिने थियो । २०६८ भदौमा स्थापित नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको थियो ।
तर, सर्वसाधारणको करोडौं लगानी उठाएर अस्वभाविक खर्च गर्दै आएको कम्पनीबाट सर्वसाधारणले आफ्नो लगानी डुब्ने खतरा देखिसकेका छन् । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् ।
‘हामी सक्छौं’ भन्ने नाराका साथ शुरू गरिएको सुरुङमार्गका लागि कम्पनीले १७ सय जना संस्थापक र साधारण शेयरधनीबाट ३० करोड ७८ लाख ८६ हजार ३ सय ९२ संकलन गर्यो । त्यसमध्ये रु.७ करोड ६० लाख अग्राधिकार शेयर हो ।
भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले सुरुङमार्ग बनाउन नभएर जनता ठग्ने काम भएको आरोप लगाउनु भयो । कम्पनीले जनता झुक्याएको उहाँले बताउनु भएको छ । रानाले कम्पनीले मकवानपुरबासीको शेयर फिर्ता गर्नुपर्ने बताउनु हुन्छ ।
कतिपय सर्वसाधारणले लालपुर्जा धितो राखी ऋण लिएर समेत लगानी गरेका थिए । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार भिमफेदी गाउँपालिकाका मात्रै ३ हजारभन्दा बढी परिवारले १० हजारदेखि १० लाख रुपैयाँसम्मका पूर्वाधार विकास कम्पनीमा लगानी गरेका छन् ।

२०७० कात्तिक–मंसीरमा काम थालेर २०७४ मंसीरमा सक्ने भनिएको सुरुङमार्गले देश–विदेशका नेपालीलाई उत्साही बनाएको थियो, त्यतिबेला । तर, अहिले आशाको किरण निभिसकेको छ ।
सेयर खरिद गर्ने सर्वसाधारण नै सुरुङमार्गको परिकल्पना गर्न छोडिसके । सञ्चालक, संस्थापक शेयरधनी र साधारण लगानीकर्तामा त्यतिबेलाको उत्साह अहिले हराइसकेको छ । छ त केवल ऋण र असफलताको चर्चा ।
२०६७ ताका मकवानपुरका एमाले नेता तथा पूर्वा सांसद सुवासचन्द्र ठकुरीको नेतृत्वमा सुरुङ मार्ग निर्माणको पहल भएको थियो । ठकुरीको संयोजकत्वमा १५० सदस्यीय सहजीकरण समिति पनि गठन भयो ।
समितिले उद्योग वणिज्य महासंघसँगको सहकार्यमा सुरुङमार्ग निर्माणलाई अघि बढाउने निर्णय गरेको थियो । त्यसबेला उद्योग वाणिज्य महासंघका अध्यक्ष थिए, कुशकुमार जोशी । उनै जोशीको नेतृत्वमा कम्पनी खडा गरेर सुरुङमार्गको नाममा करोडौं रकम उठाइएको थियो ।
कम्पनीले काठमाडौंबाट कुलेखानी हुँदै एक घण्टामै हेटौंडा पुगिने सुरुङ मार्ग निर्माण गर्ने भन्दै ८ वर्षअघि मकवानपुरवासीको २३ करोडसहित २६ करोड रुपैयाँ उठाएको थियो । तर, २०७४ सालमै सम्पन्न हुने भनिएको सुरुङ मार्ग अझैसम्म सुरु भएको छैन ।
आयोजनामा मकवानपुरको भिमफेदी, इन्द्रसरोवर र हेटौंडाका स्थानीयबाट करोडौं रुपैयाँ सेयरको नाममा उठाइएको थियो । वैदेशिक रोजगारीमा कोरिया गएका नेपालीबाटै आयोजनाका लागि रु.२ करोडभन्दा बढी संकलन भएको थियो ।
काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग बनेपछि आफ्नो जिल्लाको मात्र होइन, देशकै अर्थतन्त्रमा कायापलट हुने आशामा मकवानपुरका स्थानीय वासिन्दाले पेट काटेर जोगाएको पैसा पूर्वाधार कम्पनीमा लगानी गरेका थिए । धेरै स्थानीय महिलाले कुखुरा–बाख्रा बेचेको पैसा पनि कम्पनीलाई सुम्पिए ।
सर्वसाधारणबाट उठाइएको रकम भने विदेश भ्रमण, हिरोइनलाई सगरमाथा चढ्न प्रायोजन र अन्य प्रशासनिक काममा खर्च भइसकेको छ । बाँकी लगानी पनि जुटेको छैन । लगानी जुटाउने भनिएको पनि सर्वसाधारणले पत्याउन छोडिसकेका छन् ।
कम्पनीले ३६ करोड उठाएर दुई वर्षमै ३० करोड रुपैयाँ खर्च देखाएको थियो । तर कम्पनीको नियमावलीमा संकलित रकमको व्याजले मात्रै कार्यालय सञ्चालन तथा भ्रमण गर्ने व्यवस्था रहेको थियो ।
करिब एक वर्षअघि काठमाडौंमा सम्पन्न कम्पनीको विशेष साधारण सभामा कम्पनीले अब आफूसँग ६ करोड जति मात्रै बाँकी रहेको जानकारी दिएको थियो ।

सुरुङ खन्न ल्याएको एक्साभेटर कुहियो
भिमफेदी बजार नजिकै खहरे खोला छेउको गेग्रेटो मैदानमा एउटा पहेंलो रङको एक्साभेटर लामोसमयदेखि अलपत्र छ ।
सुरुङमार्ग निर्माण गर्ने कम्पनीदेखि दिक्क भएका मकवानपुरेबासीलाई आँखामा छारो हाल्न ल्याइएको एस्काभेटर कुहिने अवस्थामा रहेको भीमफेदी गाउँपालिका उपाध्यक्ष तथा सेयर खरिदकर्ता पार्वती राना बताउँनु हुन्छ ।
यो एस्काभेटर जनताको आँखामा छारो हाल्न ल्याएको भन्दै कम्पनीले सुरुङमार्ग निर्माणमा सर्वसाधारणलाई धोका दिएको रानाले बताउनु भएको छ ।
एक्साभेटरमा खिया लाग्दैछ । रङ उप्किँदैछ । झारहरू पलाएर ड्राइभर बस्ने सिट छुन खोज्दैछन् । ‘सुरुङ मार्ग परियोजनामा छट्टु नेता र व्यापारीबाट मकवानपुरका सोझासिधा जनताले पाएको धोकाको प्रतीक हो– यो एक्साभेटर ।’ लगानीकर्ता भन्छन् ।
