हेटौंडा जोड्ने सडक कलोपत्रे भइसक्यो, पुलको पिल्लरमात्रै ठडियो

तु खबर संवाददाता
२०७६ माघ २०, सोमबार १२:२९

हेटौंडा, २० माघ । बागमती प्रदेशको राजधानी जोड्ने महत्वपूर्ण सडक खण्ड मदन भण्डारी लोकमार्ग अन्तर्गत बगमती पुल ९ वर्षदेखि अलपत्र छ ।

मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने उक्त पुल निर्माण कम्पनीको लापरबाहीको कारण यतिका वर्षदेखि अलपत्र भएको हो । बागमती पुलको कंक्रिट पिल्लरमात्रै ठडिएको छ ।

मदन भण्डारी लोकमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा) कालोपत्रेसहित सडक निर्माण भइसक्दा पनि बागमती पुल निर्माणले पूर्णता पाउनेमा अझै यकिन छैन । पुल निर्माणको सुरुवाती चरणमा पिल्लर ठडिएको छ । तर, पिल्लर बनेपछि पुल निर्माणको काम रोकिएको हो ।

पुल नबनेकै कारण कालोपत्रे सडक भए पनि जोखिम मोलेर बागमती नदी तर्नुपर्ने बाध्यता स्थानीयको छ । उक्त लोकमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँद याममा जसोतसो खोला वारपार गर्छन् तर वर्षायाममा वारिबाट पारि जान सक्ने अवस्था हुँदैन ।

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मदन भण्डारी लोकमार्गको उक्त पुल नबन्दा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौंडाका अनुसार उक्त पुल ०६८ असार २९ मा स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको थियो ।

भ्याटबाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र पुलको लम्बाइ चार सय तीन मिटर लामो रहेको छ ।

निर्माण कम्पनीले समयमै काम नगरेका कारण कारबाही स्वरुप पुल बनाउन लगेको पेस्की रकम असुल गरिसकेको र क्षतिपूर्ति तिराउने निर्णय भई प्रक्रियासमेत अघि बढेको आयोजनाले जनाएको छ ।

तोकिएको समय अवधिमा काम नभएपछि ०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजना कार्यालयले जनाएको छ ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामाले पुल बनेपछि बागमती खोला तरेर वर्षातमासमेत सहज तरिकाले सिधै प्रदेश राजधानी हेटौंडा जान पाइन्छ भन्ने स्थानीयको सपना अधुरो हुनेमा चिन्ता लागेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*