भीमफेदी–कुलेखानी सुरुङमार्गको ‘वैशाखभित्रै टेण्डर’

तु खबर संवाददाता
२०७६ फाल्गुन १३, मंगलवार १५:५८

हेटौंडा, १३ फागुन । बागमती प्रदेश सरकारको गौरव योजना पोष्टबहादुर ‘बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ ।

भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको छ । बागमती प्रदेश सरकार गठन भएको दुईवर्षसम्म पनि सुरुङमार्गमा बजेट बिनियोजित गरेरमात्रै बसेको सरकारले अब भने काम अगाडि बढाउन लागेको हो ।

यसअघि नीजि क्षेत्रको पूर्वाधार विकास कम्पनीले भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सुरुङमार्गको काम अगाडि बढाउन नसकेपछि बागमती प्रदेश सरकारले कम्पनीसँगको सम्झौता खारेज गर्न संघीय सरकारलाई अनुरोध गरेको थियो । संघीय सरकारले सम्झौता खारेज नगर्दा प्रदेश सरकार अलमलमा थियो ।

हेटौंडा–काठमाडौं छोटोमार्ग अन्तर्गत भीमफेदीदेखि कुलेखानी ड्यामसम्मको सडक खण्डलाई छोट्याएर काम गर्न लागिएको हो । उक्त छोटोमार्ग मध्ये भीमफेदी–कुलेखानी सडक खण्ड खतरायुक्त छ । १६ किलोमिटरको अप्ठेरो बाटोको दुरीलाई छोट्याएर ३ दशमलम ५ किलोमिटर सुरुङमार्ग बनाउन लागिएको हो ।

सुरुङमार्ग निर्माण गरेर हेटौंडा–काठमाडौंको दुरी छोटो पार्ने योजनाका साथ काम गरिएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिनु भयो ।

भिमफेदीदेखि कुलेखानी सम्म १६ किमी सडक छोटो हुँदा हेटौंडाबाट काठमाडौं ६५ किमी दुरीमा सीमित हुन्छ । सुरुङमार्ग निर्माण पश्चात दुई घण्टामै काठमाडौं पुग्ने गरी सडक विस्तार गरिने प्रदेश सरकारको योजना छ ।

कुलेखानीदेखि फर्पिङ र भीमफेदीदेखि हेटौंडासम्मको सडक फराकिलो बनाएर सहज रुपमा काठमाडौं ओहोरदोहोर गर्ने वातावरण बनाउन प्रदेश सरकार लागेको छ ।

सुरुङमार्गको वैशाखभित्रै टेण्डर

भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि आगामी वैशाखमा टेण्डर गर्ने गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गरिरहेको छ । प्रदेश सरकारले यो सुरुङमार्ग निर्माणको काम दुईवर्ष भित्र सक्ने गरी टेण्डर आह्वान गर्न लागेको हो ।

प्रदेशले उक्त सुरुमार्गलाई गौरवको योजनामा राखेपछि कामले गति लिन सकेको थिएन । तर, अब टेण्डरको विषयमा तयारी भइरहेको मन्त्रालयका सचिव भट्टले बताउनु भयो ।

टेण्डरको काम सकेर चालु आर्थिक वर्षकै असार महिनाको अन्तिममा सुरुङमार्गको शिलान्यास गर्ने प्रदेश सरकारको तयारी छ ।

सुरुङमार्ग निर्माणको लागि मन्त्रालयले सातवटा अध्ययन टोली खटाएको मन्त्रालयका सचिव भट्टले जानकारी दिनु भयो । ७ वटै अध्ययन टोलीले काम गरिरहेको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*