पार्कमा करोडौं खर्च गर्दै बागमती प्रदेश सरकार
हेटौंडा, १६ माघ । प्रदेश सरकारले पर्यटन पूर्बाधार निर्माणका क्रममा पार्क, भ्यू टावर र पदमार्गलाई प्राथमिकतामा राखेको छ । वागमती प्रदेश सरकारले पर्यटन पूर्बाधारका २० वटा बिभिन्न प्याकेजलाई उपभोक्ता समितिमार्फत् निर्माण गर्ने गरी सम्झौता गरेको छ ।
२० वटा प्याकेजलाई ७ करोड २५ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत् निर्माण गर्ने गरी काम अगाडि बढाइएको वागमती प्रदेशको पर्यटन पूर्बाधार विकास आयोजनाका सूचना अधिकारी द्रोणबिक्रम कार्कीले जानकारी दिए । आगामी एक दशक पर्यटन पूर्वाधार निर्माणमा लाग्ने प्रदेश सरकारले जनाएको छ ।
५० लाख रुपैयाँमा धादिङको थाक्रे–६ मा क्यानोनिङ सुबिधिासहितको पार्क निर्माण गर्न सम्झौता भएको सूचना अधिकारी कार्कीले जानकारी दिए । सूर्यबिनायक–४ भक्तपुरमा २० लाख रुपैयाँ खर्च गर्न उपभोक्ता समितिसँग सम्झौता भएको छ ।
त्यस्तै रत्ननगर–९ चितवनमा ५० लाख रुपैयाँको लागतमा टिकौली ईको रिक्रिएसन पार्क निर्माण गर्न उपभोक्ता समितिसँग सम्झौता भएको छ । भीमेश्वर–६ दोलखामा बिश्वशान्ति बुद्ध पार्क निर्माण गर्न समितिसँग सम्झौता भएको छ ।
हेटौंडा–१८ गुम्बाडाँडामा पर्यटन पूर्बाधार निर्माण गर्न समितिलाई ५० लाख रुपैयाँ दिने गरी समितिसँग सम्झौता गरिएको छ । ५० लाख रुपैयाँमा तारकेश्वर–१० काठमाडौं, खर्कचौरमा लोकतान्त्रिक पार्क निर्माण गर्न समितिसँग सम्झौता भएको छ ।
त्यस्तै चितवनको परेबाकोटमा २० लाख रुपैयाँमा जेपी पार्कको अधुरो काम सम्पन्न गर्न समितिसँग सम्झौता भएको सूचना अधिकारी कार्कीले बताए ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन आयोजनामार्फत् काम गर्न लागिएको हो । बिषेश गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर निर्माण कार्य गर्न लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले वताएको छ ।
पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै चालु आर्थिक वर्षमा ३ वटा हिलस्टेशन निर्माण गर्ने तयारी थालेको छ । ८ वटा हिलस्टेसन, १३ वटा पर्यटन ग्राम, १० वटा पर्यटन गन्तब्य, २२ वटा पदमार्गका लागि प्रदेश सरकारले काम गरिरहेको बताइएको छ ।
नुवाकोटको ककनी, सिन्धुपाल्चोकको मुडे र मकवानपुरको चितलाङमा पहिलो चरणमा हिल स्टेशन निर्माण हुनेछन् । बिभिन्न प्याकेजमा ११ करोड रुपैयाँको बोलपत्र भइसकेको र ७ करोड रुपैयाँ बढीको काम गर्न उपभोक्ता समितिमार्फत् प्रक्रिया अगाडि बढेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
काभ्रेको बासुकी थुम्का, मकवानपुरको ईन्द्रसरोबर, चितवनको मेघौली, रसुवाको पार्बतीकुण्ड, सिन्धुलीको हरिहरपुरगढी, सिन्धुपाल्चोकको जुगललगायत १० वटा पर्यटकीय गन्तव्यमा काम र्ग लागेको हो ।
सूचना अधिकारी कार्कीका अनुसार वागमती प्रदेशभरका पर्यटनसँग सम्बन्धित आयोजना एक सय ३२ वटा पहिचान भएका छन् । तर, चालु आर्थिक बर्षका लागि एक अर्ब ६१ करोड रुपैयाँ मात्र बिनियोजन भएका कारण सबै योजना सुरु गर्न नसकिएको अवस्था छ ।
टेण्डर प्रक्रियामा गएका २२ वटा आयोजनामध्य ७ वटा आयोजनाको निर्माण सम्झौता भएर काम सुरु भएको कार्कीले जानकारी दिएका छन् ।
