हेटौंडा हुँदै गुड्ने रेलमार्गको डीपीआर निर्माण गर्न सम्झौता
हेटौंडा, १४ पुस । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सम्झौता भएको छ ।
रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच पुस ६ गते डीपीआर सम्झौता भएको हो ।
विभागका महानिर्देशक बलराम मिश्रका अनुसार १५ महिनाभित्रमा डीपीआर सम्पन्न गर्ने गरी परामर्शदातासँग सम्झौता गरिएको हो ।
परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारले १२ लाख ८५ हजार चार अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको थियो ।
डीपीआर सुरु गर्नु पूर्वपरामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको छ । परामर्शदाताले २०७७ वैशाखमा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्नेछ । यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।
विभागले २०७५ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनःडीपीआर तयार गर्न विश्वव्यापी आसय मागेको थियो।
मेची–महाकाली रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर निर्माण गर्न १३ वटा परामर्शदाताले आवेदन बुझाएका थिए ।
विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सल–सीआरईईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–मकवानपुर–भरतपुर रेल खण्डको डीपीआरका लागि योग्य देखिएको थियो ।
उसले प्राविधिक क्षमतार्फत ९२.५७ अंक प्राप्त गरेको छ ।
डीपीआर तयार गर्न विदेशी साझेदारका तर्फबाट १२ लाख ८५ हजार चार सय अमेरिकी डलर र नेपालीका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको छ ।
यो परामर्शदाताले तोकिएकै रकममा निजगढ–हेटौंडा–भरतपुर रेल खण्डको डीपीआर अघि बढाउनेछ ।
