तु खबर समाचार प्रभावः विद्युत् चोरी गर्ने ठेकेदारमाथि प्राधिकरणको ‘एक्सन’
हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोला र वडा नं. ३ कालिखोला जोड्ने पुल निर्माणको क्रममा निर्माण कम्पनीले विद्युत चोरी गरेपछि विद्युत प्राधिकरण हेटौंडाले ‘एक्सन’ लिएको छ ।
प्राधिकरणले कम्पनीलाई कारबाहीको दायरामा ल्याउने भएको छ । तु खबर डटकममा निर्माण कम्पनीले विद्युत चोरी गरी पुल बनाउँदै आएको समाचार प्रकाशित भएको २ घण्टा नबित्दै प्राधिकरण हेटौंडा वितरण केन्द्र प्रमुख योगेन्द्र ठाकुर स्वयम पुल निर्माणाधिन स्थल पुगेर विद्युत सामग्री जफत गरेका छन् ।
उनले दिएको जानकारी अनुसार निर्माण कम्पनीले करिब १ किलोमिटर टाढाबाट हुक लगाएर विद्युत चोरी गर्दै आइरहेको थियो । केन्द्रले रड काट्ने मेसिन, करिब १० हजार मुल्य बराबरको विजुलीको तार जफत गरेको छ ।
केन्द्र प्रमुख ठाकुरले निर्माण कम्पनीलाई क्षतिपुर्ति भराउन तत्काल पत्राचार गर्ने जानकारी दिएका छन् । उनका अनुसार पुल निर्माण स्थलमा प्राधिकरणको गाडी देखेपछि सबै फरार भएका थिए ।
‘हामीले समाचार पढ्नासाथ अप्रेशन सुरु ग¥र्यौ । करिब १ किलोमिटर टाढाबाट विद्युत चोरी गरेर ल्याएको रहेछ । लामो समयदेखि विद्युत चोरी गर्दै आएको देखिएको छ । अनुसन्धान गरी निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउने छौं ।–’ तु खबरसँग कुरा गर्दै केन्द्र प्रमुख ठाकुरले भने ।
करिब डेढवर्ष अघि नै पुल निर्माण सकाउनु पर्ने जिम्मेवारीका साथ काम सुरु गरेको निर्माण कम्पनी नागार्जुन÷शंकरमाली जेभीले ३ वर्ष बितिसक्दा पनि निर्माण कार्य सकाएको छैन् ।
वडा नम्बर ३ मा पर्ने पुलको पिल्लर ढलानको क्रममा हुक लागाएर विद्युत चोरी गरेको स्वयम निर्माण व्यवसायी फुर्वा दोर्जे लामाले स्वीकार गरेका छन् । लामाले तु खबरसँग कुरा गर्दै केही दिन विद्युत हुक लगाएर ल्याइएको बताए ।
निर्माण कम्पनीले ५ करोड ३७ लाख ९२ हजार ३ सय ५ रुपियाँमा ठेक्का सकार गरेको हो । कम्पनीले २०७४ चैता महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
पुल निर्माणले अझै पूर्णता नपाउँदा स्थानीयहरु हरेक बर्षायाममा दुईवटा वडामा ओहोरदोहोर गर्नका लागि समस्या भोग्दै आएका छन् । खोलाका बीच भागमा पुलका लागि पिल्लर ठडिएका छन्, रड ठड्याइएको छ । समयसमयमा आएर निर्माण कम्पनीले काम गर्दै छोड्दै गरेको छ ।
यो पनि पढ्नुहोस्
विद्युत् चोरेर मकवानपुरगढीमा पुल बनाउँदै ठेकेदार
