विद्युत् चोरेर मकवानपुरगढीमा पुल बनाउँदै ठेकेदार
हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोला र वडा नं. ३ कालिखोला जोड्ने पुल निर्माण सुरु भएको तीन बर्ष बितीसक्यो । करिब डेढवर्ष अघि नै पुल निर्माण सकाउनु पर्ने जिम्मेवारीका साथ काम सुरु गरेको निर्माण कम्पनी नागार्जुन÷शंकरमाली जेभीले अहिलेसम्म पनि आधा काम सकाएको छैन् ।
सम्झौता उलङ्घन गर्दै आएको निर्माण कम्पनीले पुल निर्माणको क्रममा बदमासी गरेको पाइएको छ । विद्युत चोरी गरेर पुल निर्माण गरिरहेको हो ।
पुल निर्माण सुरु गर्दा स्थानीयको घरबाट विद्युत ल्याएपनि विगत १ महिना अघिदेखि गोप्य रुपमा विद्युत चोरी गर्दै पुलको काम गरिरहेको स्रोतले जानकारी दिएको छ ।
वडा नम्बर ३ मा पर्ने पुलको पिल्लर ढलानको क्रममा हुक लागाएर विद्युत चोरी गरेको स्वयम निर्माण व्यवसायी फुर्वा दोर्जे लामाले स्वीकार गरेका छन् ।
लामाले तु खबरसँग कुरा गर्दै केही दिन विद्युत हुक लगाएर ल्याइएको बताए । पुल निर्माणमा रेखरेद गर्दै आएका स्थानीय बासु दाहालले पहिलादेखि विद्युत ल्याउने घरको मिटर जलेको कारण विद्युत हुक लगाएर काम गर्नु परेको स्वीकार गरे ।
उनले ३ नं. वडा कार्यालयसँग समन्वय गरेर हुक लगाएर विद्युत ल्याएको बताएपनि वडा अध्यक्ष भागवत घिमिरेलेले उनको भनाईलाई खण्डन गरेका छन् ।
अधयक्ष घिमिरेले वडा कार्यालयले विद्युत चोरी गर्ने कुरामा कुनै सहमती नजनाएको बताउँदै ठेकेदारको लापरबाही भएको बताए ।
निर्माण कम्पनीले ५ करोड ३७ लाख ९२ हजार ३ सय ५ रुपियाँमा ठेक्का सकार गरेको हो । कम्पनीले २०७४ चैता महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
सामरी खोलामा पुल निर्माणले अझै पूर्णता पाएको छैन् । स्थानीयहरु हरेक बर्षायाममा दुईवटा वडामा ओहोरदोहोर गर्नका लागि समस्या भोग्दै आएका छन् ।
खोलाका बीच भागमा पुलका लागि पिल्लर ठडिएका छन्, रड ठड्याइएको छ । तर, काम अगाडी बढ्न नसकेको स्थानीय वासिन्दाहरु बताउँछन् । समयसमयमा आएर निर्माण कम्पनीले काम गर्दै छोड्दै गरेको छ ।
पुल निर्माण होला र ओहोरदोहोर गरौँला भनेर बसेका स्थानीयहरुले अब पुल बन्छ भनेर पत्याउन पनि छोडिसके ।
मकवानपुरगढी गाउँपालिकाले पुल निर्माण कार्यलाई छिट्टो पूर्णता दिनको लागि निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ ।
