गाँजा फँडानीमा प्रहरीको सक्रियता, उत्पादन क्षेत्रमा आफैँ पुगे एसपी

तु खबर संवाददाता
२०७६ भाद्र १७, मंगलवार ११:४८

हेटौंंडा/ गाँजा उत्पादनको राजधानीका रुपमा देशमै चिनिएको मकवानपुरका केही क्षेत्रमा प्रहरीले आइतबारदेखि विशेष अभियान थालेको छ । ती स्थानमा सम्भवतः पहिलोपटक गाँजा फँडानीका लागि प्रहरी प्रमुख नै पुगेका छन् ।

प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा फँडानी गरेको हो । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले राक्सिराङ र कैलाशका विभिन्न क्षेत्रका गाँजा फँडानी गरेको हो । यसप्रकारको कार्य निरन्तर जारी रहने प्रउ सिंहले बताए ।
टोलीले राक्सिराङको लावती, हाम्दुङ, खोलाङ्दी, कैलाश गाउ“पालिका क्षेत्रमा लगाइएको डेढ बिगाह गाँजा खेती र १ कठ्ठा गाँजाको ब्याड नष्ट गरेको छ । मकवानपुर प्रहरीको गाँजा नियन्त्रण अभियान अन्तर्गत् जिल्ला प्रहरी प्रमुखसहित १५ जनाको टोलीले गाँजा प्रभावित क्षेत्रमा खेती र ब्याड नष्ट गरेको हो ।

प्रहरीले गाँजा खेती र ब्याड नष्ट गर्न ४ वटा टोली बनाएरराक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न वडामा ६० जना प्रहरी परिचालन गरेको जनाइएको छ । अघिल्ला वर्षहरुमा गाँजा नष्ट गरेर फर्किने गरेको प्रहरीले यस वर्षदेखि गाँजा किसानलाई पनि पक्राउ गरी मुद्धा चलाउने भएको छ ।

पहिला ब्याड र बारीमा लगाइएको गाँजामात्र नष्ट गथ्र्यो प्रहरीले, तर गाँजा खेती यसरी निर्मूल नभएपछि यस वर्षदेखि गाँजा फाँडानी सँगै गाँजा रोप्नेलाई पनि पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने तयारी रहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

राज्यले निषेध गरेको काम रोक्नु हाम्रो कर्तव्य हो । लगातार ३/४ वर्ष फँडानी गरेका हौं, अब फँडानी सँगै किसानलाई पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने काम हुनेछ,’ प्रहरी उपरीक्षक सिंहले भने ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका थुनुवामध्ये ६४ प्रतिशत लागुऔषध कारोबारमा संलग्न रहेका कारण पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषधमध्ये गाँजा ओसारपसारमा संलग्नता बढी पाइएको छ ।

हरेक वर्ष कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका विभिन्न बस्तीमा गाँजाखेती हुँदै आएको छ । पछिल्ला वर्षमा प्रहरीले बजेट र जनशक्ति अभावका बाबजुद गाँजा फँडानी गर्ने गरेको छ ।

मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधसहित २ सय ५ जनालाई पक्राउ गरेको थियो । तीमध्ये भारतीय नागरिक २७ पुरुष र ३ महिला छन् । उक्त अवधिमा नेपाली पुरुष १ सय ६९ जना र महिला ६ जना पक्राउपरेका थिए ।

प्रहरीले मकवानपुरबाट आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार १ सय ८८ किलो गाँजा बरामद  गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष प्रहरीले मकवानपुरबाट १ हजार १ सय ५ किलो गा“जा बरामद गरेको तथ्यांक छ ।

  • आजको हेटौंडा सन्देश मा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*