बालबालिकाको विकासमा भिलेन बन्दै छ ‘जंक फुड’

तु खबर संवाददाता
२०७६ श्रावण ३२, शनिबार १०:०३

आजभोलीको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । आज शहरको जीवनशैली त झन बिकराल बन्दै छ । रेस्टुरेन्ट कल्चरले हाम्रो खानपान र स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । खासगरी छुट्टीका दिनहरुमा बच्चाबच्चीको एउटी डिमाण्ड हुन्छ, रेस्टुरेन्टमा जाने पिजा बर्गर खाने ।

अहिले खासगरी बालबालिकाहरुमा जंक फुड खाने आदत निकै बढी नै रहेको पाइन्छ । बर्गर पिजादेखि चाउमिन, मम, चाउचाउ हरेक दिनको खाजा हुने गरेको पाइन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा नजानिदो किसिमले कस्तो असर गरिरहेको छ त्यसबारे अभिभावक अनविज्ञ रहेको देखिन्छ । भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमत्तापूर्ण हुन्छ ।

विभिन्न अनुसन्धानहरुले बालबालिकाहरुले हरेक दिन खाने जंक फुडले गर्ने असरका बारेमा धेरै कुरा बताएका छन् । जंक फुडको प्रयोगले बालबालिकामा एलर्जीको खतरा बढ्ने, स्मरण शक्ति कम्जोर हुने पाइएको छ । अझ सानो उमेरका बालबालिका जो स्कुल जान्छन्, उनीहरुको मानसिक विकास तिब्र गतिमा भैरहेको हुन्छ, उनीहरुमा जंक फुडको आदतको असर झन् बढी हुने गरेको पाइन्छ । कम उमेरका बालबालिकाले जंक फुड खाएमा उनीहरुको मानसिक विकासमा अवरोध आउने, जसको कारण उनीहरुको दिमाग कमजोर हुन सक्छ ।

युरोपियन सोसाइटीले गरेको यस सम्बन्धि एक रिसर्च अनुसार जंक फुडमा हुने अत्याधिक चीनीको मात्रा, नुनको मात्रा, धेरै प्रोसेस्ड गरेर बनाइएका, माइक्रो वेभमा बनाइएका या गरम गरिएका, बार्बीक्यूमा रोष्ट गरिएका लगायतका खानेकुरा खानाले बालबालिकामा एलर्जी हुने खतरा हुने उल्लेख गरिएको छ । यी सबै प्रकारका खानेकुरामा एड्भान्ड्स ग्लाइकेशन एण्ड प्रोडक्टसको मात्रा बढी हुने हुनाले यसले बालबालिकालाई एलर्जी गराउने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

यस्ता प्रकारका खाना बालबालिकाले नियमित खाएमा अक्सिडेटिव किसिमका रोगको खतरा बढेर जाने बताईन्छ । यस प्रकारका रोगहरुमा डाबिटिज प्रमुख हो । साथै लामो समयसम्म पिज्जा बर्गर, फ्रेन्च फ्राई, डोनट, कोल्ड ड्रिंक्स, सोडा, चाउमिन, मम खाने बालबालिकाको हड्डी कम्जोर हुने डाक्टरहरु बताउछन् ।

त्यस्तै एक रिसर्चमा ६१ बालबालिकालाई तीन समुहमा बिभाजन गरेर अध्ययन गरिएको थियो । ६ देखि १२ बर्षका यी बच्चाहरुलाई पहिलो समुहमा एलर्जी भएका, दोस्रो समुहमा स्वास प्रश्वासका बिरामी बच्चा र तेस्रो समुहमा स्वस्थ्य बच्चा राखेर अध्ययन गर्दा अनुसन्धानकर्ताहरु कुनै पनि किसिमले बालबालिकाका लागि जंक फुडको प्र्य्ग हानिकारक भएको निष्कर्ष निकालिएको थियो ।

त्यस्तै बालबालिकाले जंक फुडको नियमित सेवनबाट हुने अर्को खतरनाक समस्या मानसिक विकासमा अवरोध हो । जंक फुड खादा स्वादिष्ट हुने, पेट पनि भरिने तर शरीरलाई चाहिने सबै भिटामिन नहुने हुदा बालबालिकाको मानसिक विकासमा असर पुग्ने गर्दछ ।

अहिले शहरीकरणसँगै बढेको रेष्टुरेन्ट जाने कल्चर, सजिलोको लागि बालबालिकाका लागि सजिलै उपलब्ध जंक फुडको बढ्दो प्रयोगले हामि जानेर या नजानेर हाम्रा बालबालिकाको शारीरिक र मानसिक रुपमा हुनुपर्ने विकासको अवरोध गरिरहेका छौ । समयमै यस बारे सचेत भएर हाम्रा भोलिका भविष्य यी स-साना नानीहरुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन जंक फुडको प्रयोग कम गरौ र गर्न दिऊ ।

खरीबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*