व्यवसायी सुमार्गीसँग तु खबरको विशेष वार्ता – ‘मुआब्जा नदिई २५ मिटरभित्रको संरचना भत्काउन खोजे डोजरमा आगो बल्छ ’

मकवानपुर २४ असार । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा चर्चित व्यवसायी अरुणराज सुमार्गीले २५ मिटर सडक विस्तार गर्नुअघि राज्यले घरधनीलाई मुआब्जा दिनुपर्ने बताएका छन् ।
आज तु खबरसंग कुराकानी गर्दै उनले मुआब्जा नदिई सडक विस्तारको काम अघि बढाइएमा स्वभाविक रुपमा डोजरमा आगो बल्ने उनको चेतावनी थियो । २०३१ साल अघि नै हेटौंडा बजार विस्तार भइसकेको स्मरण गराउँदै व्यवसायी सुमार्गीले २०३१ अघि निर्माण भएका घरजग्गाको मुआब्जा दिनुपर्ने बताए ।
त्यसपछि बनेका घरको मुआब्जा हामीले मागेका छैनौँ, जग्गाको मुआब्जा भने सरकारले दिनुपर्छ– उनले भने ।
उनले सडक विस्तारको नाममा राज्यले जनतालाई सुकुम्वासी बनाउन नमिल्ने दावी गरेका छन् । यदी मुआब्जा दिन राज्यले सक्दैन भने १६ मिटरमात्रै सडक विस्तार गर्दा हुन्छ, त्यसमा हाम्रो आपत्ती छैन ।
आफूहरु विकास विरोधी नभएको स्पष्ट पार्दै व्यवसायी सुमार्गीले मुआब्जा दिने हो भने हामी भोली नै सडक विस्तारको लागि छोडिदिन्छौँ, उनले भने ।
हामीलाई पेलेर मुआब्जा नदिई राज्यले विगतमा पनि घर भत्काउन खोजेको थियो, हामीले कानूनी बाटो रोज्यौँ, अदालतले स्टे अर्डर जारी गर्यो – उनले विगत स्मरण गर्दै उनले भने । अदालतको स्टे अर्डरका कारण डिभिजन सडक पनि पछि हट्यो ।
फेरी अहिले सडक विस्तारको लागि काम अघि बढाइएको छ । मुआब्जा दिए हामी सहयोग गर्छौँ, तर राज्यले दमन गर्न खोेज्यो भने आगो बल्नु स्वभाविक हो, हामी आगो बाल्छौँ – उनले चेतावनी दिए ।
अदालतको स्टे अर्डरकै कारण डिभिजन सडक बजार भत्काउन नसकेर लोथर र अम्लेखगंज पुगेको उनको भनाई छ । तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीको नेतृत्वमा पनि सरकारी संरचना मात्रै भत्किएको भन्दै उनले राज्यले जनताको घरमा मुआब्जा नदिई डोजर चनाउन नसक्ने र नमिल्ने दावी गरे ।
उनले विकासभन्दा पनि अर्काको घर भत्कँदा खुशी हुनेको संङ्ख्या धेरै भएको आरोप लगाए । २५ मिटरको विषयमा मिडियामा प्रचारबाजी भएको भन्दै उनले आपत्ती जनाए ।