सरुवा भई हेटौँडा आउनुपर्ने सचिव घिमिरे सम्पर्कमा छैनन्
मकवानपुर, १२ वैशाख । प्रदेश नं. ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव हाजिर नहुँदा कामकाजमा समस्या भएको छ । सामान्य प्रशासन मन्त्रालयले बालकृष्ण घिमिरेलाई आर्थिक मामिला मन्त्रालयको सचिवको रुपमा खटाएको थियो ।
चैत २४ गते उनलाई हेटौँडास्थित मन्त्रालयमा पठाएको भएपनि अहिलेसम्म उनी आर्थिक मामिला तथा योजना मन्त्रालयमा सम्पर्कमा आएका
छैनन । उनी कहाँ छन्, के गर्दैछन् भन्ने अत्तोपत्तो छैन । मन्त्रालय स्रोतका अनुसार, घनश्याम पन्थीले निमित्त सचिवको रुपमा काम सम्हालिरहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले सचिव खटाएको भएपनि उनी हालसम्म हेटौँडा आइपुगेका छैनन्, मन्त्रालयमा उनी आउने वा अनाउने बारे आधिकारिक कुरा पनि आएको छैन, आर्थिक मामिला मन्त्रालय स्रोतले तु खबरसँग भन्यो ।
तु खबरलाई प्राप्त जानकारी अनुसार, केन्द्रीय सरकार र प्रदेश सरकारबीच आवश्यक समन्वय नभई सचिवको सरुवा हुँदा कामकाजमा समस्या भइरहेको छ ।
अब हाम्रो मन्त्रालयमा सचिव कहिले आइपुग्ने हो, ठेगान छैन– एक कर्मचारीले भने । उनले बताए अनुसार, केन्द्र सरकारले सरुवा गरी हेटौंडास्थित आर्थिक मामिला मन्त्रालय पठाएका सचिव कहाँ आए वा गएका छन् थाहा छैन ।
