अर्थ समितिको प्रि बजेट छलफल : केन्द्र सरकारप्रति मुख्यमन्त्री पौडेल रुष्ट

तु खबर संवाददाता
२०७६ बैशाख ८, आईतवार १२:४५

मकवानपुर, ८ वैशाख । संघीय संसदको अर्थ समितिले आज प्रि बजेटबारे छलफल आयोजना गरेको छ । आज आयोजित कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्रदेश सँसदहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

आउँदो आर्थिक वर्षको बजेट कस्तो बनाउने, बजेटका प्राथमिकताहरु के के हुन सक्छन् भन्ने विषयमा सरोकारवालासँग पूर्व छलफल गरिएको
थियो । छलफलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा उपमहानगरपालिकाका मेयर तथा उपमेयर, कर्मचारीलगायतका सरोकारवाला सहभागी थिए ।

कार्यक्रममा सहभागी प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ तहका सरकारले तीन तरिकाले काम गर्दा परिणाम आउन नसकेको बताएका छन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले केन्द्रले बजेट बाड्ने हो वा नीति बनाउने हो स्पष्ट गर्नुपर्ने माग समेत गरे । सरकार गठनको १४ महिना वितिसक्दा पनि संवैधानिक अधिकार केन्द्रीकृत गर्ने काम भएकोमा उनी रुष्ट देखिए । उनले हचुवा र पहुँचका भरमा ल्याइने योजनाले लक्ष्य प्राप्त नहुने बताए ।