मकवानपुरमा कुखुरा व्यवसाय : ३ महिनामा ३० करोडको क्षति

तु खबर संवाददाता
२०७६ बैशाख ७, शनिबार ११:३८

मकवानपुर, ०७ वैशाख । मकवानपुरको कुखुरा व्यवसायमा माघ महिनादेखि यता हालसम्म प्रत्यक्ष रुपमा ३० करोडभन्दाबढीको क्षति भएको छ । यो अवधिमा ३ लाख ५७ हजार लेख कुखुरा मर्यो/मारियो । यसका कारण कुखुराको बजार धोस्त भएपछि व्यवसायी र किसान मारमा परेका छन् ।

३ लाख ५७ हजार कुखुरा मध्ये ६२ हजार कुखुराको मात्र क्षतिपुर्ती पाउने अवस्था छ । वर्ड फ्लुका कारण मारिएका यि कुखुरावापतको क्षतिपूर्तिमात्र सरकारले उपलब्ध गराउँछ । बाँकी अन्य कुखुरामध्ये करीव १ लाख कुखुराको क्षति विमाले कभर गर्ने अवस्था रहेको कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले बताए । अधिकारीले बताए अनुसार, यसमा झनै ठूलो मारमा सम्पलायर्सहरु पर्नेछन् ।

महामारी नै आएपछि किसान र व्यवसायीको हालत खराब भएको छ । स्थानीय सरकारबाट केही सहुलियत हुने अवस्था बनाउन सकियो भने सामान्य राहत पाउन सकिन्छ कि भनेर आसा गरिएको उनले बताए । अव ध्वस्त भएको कुखुराको बजारलाई माथि उकास्ने हो भने बैंकले अनुदानमा ऋण थपिदिनु पर्छ । यसो भने केही महिनामा यसमा सुधार आउन सक्ने आसा उनको छ ।

केही किसानहरु भने बैंकले व्याज मिनाहा गर्नुपर्ने पक्षमा देखिएका भएपनि यो समस्याको दीर्घकालिन समाधान होइन, अधिकारीले तु खबरसँग
भने । पुनः ऋण थप गरेर व्यवसायलाई नै बलियो बनाउनु पर्ने उनले सुनाए । रोग लागेको प्रमाणित भइसकेपछि पशु विज्ञ, स्थानीय प्रशासन, उपभोक्ताकर्मी सबैले समन्वयनमा काम गरिरहेको भन्दै अध्यक्ष अधिकारीले अब क्षतिपूर्ति रकम छिटोभन्दा छिटो व्यवस्थापन हुनुपर्ने बताए । यसका निम्ति सबै सरोकारवाला पक्षले पनि महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । जतिसक्दो चाँडो क्षतिपूर्ति रकम पाउने अवस्था बनाउन सकिए किसानलाई केही हदसम्म राहत हुने थियो, अधिकारीले भने ।

जिल्लाको बसामाडी, राईगाउँ, छतिवन, सामरी, पदमपोखरी, रजैया जस्ता ठाउँहरुमा रहेका कुखुरा परिक्षण गरी स्वास्थ्य प्रमाणपत्र जारी नहुँदा भएका कुखुरा विक्री र अण्डा विक्री गर्न नपाइएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । भएका निरोगी कुखुरा र अण्डा बजारमा पुर्याउन सकिएको छैन । २ सय ८० रुपैयाँमा अण्डा विक्री हुने गरेको भएपनि अहिले १ सय ८०/८५ मा विक्री गर्नु परिरहेको छ । दैनिक १४ सय पेटी अण्डाको उत्पादन भइरहेको भएपनि खपत अत्यन्त न्यून रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले हिजो मात्र ६२ हजार कुखुरा बर्ड फ्लुका कारण मारिएको तथ्य सार्वजनिक गरेको थियो । यि कुखुराको क्षतिपूर्ति रकम मात्र सरकारले किसानलाई उपलब्ध गराउने छ । अब यसपछि पनि वर्ड फ्लुको कारण कुखुरा मारिएमा त्यस वापत्को रकम पनि सरकारले दिने छ ।

तर, यो संकटग्रस्त अवस्थामा रोग नलागेका तर विक्री गर्न नपाएका कुखुराका कारण व्यवसायी तथा किसान झनै धरासायी हुने अध्यक्ष अधिकारीको धारणा छ । स्थानीय प्रशासनले तत्कालै कुखुराको परिक्षण गरी स्वस्थ्य कुखुरालाई प्रमाणपत्र जारी गरी विक्री गर्न पाउने वातावरण बनाउन उनले आग्रह गरेका छन् ।