हेटौँडा उपमहानगरपालिकामा लेखा कै उपसचिवलाई छैन लेखाको जिम्मेवारी
मकवानपुर, ०५ वैशाख । हेटौँडा उपमहानगरपालिकामा लेखाका उपसचिवलाई नै वित्तिय व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छैन ।
समायोजनपछि ९ औँ तहको लेखा समूहका उपसचिव मानबहादुर बमलाई महाशाखाको जिम्मेवारी दिनुको सट्टा १० लाख रुपैयाँसम्मको योजना छनौट र सम्झौताको अधिकार दिएर पेन्डुलम पारिएको छ ।
खासमा लेखा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नै उनको हुनुपर्ने हो । तर, पहिलेदेखि नै उपमहानगरमा कार्यरत कर्मचारी र समायोजनमा आएका कर्मचारीवीच विभेद भइरहेको आरोप समायोजनमा स्थानीय तह छनौट गर्नेहरुले लगाउएका छन् ।
लेखाका उपसचिव मानबहादुर बमले आफूलाई वित्तीय महाशाखाका जिम्मेवारी नपाएको स्वीकार गरे । मलाई कानून बमोजिम दिनुपर्ने जिम्मेवारी नदिएको साँचो हो, उनले तु खबरसँग भने ।
उपमहानगरपालिकाको लेखा प्रणालीको सम्पूर्ण कार्यमा जवाफदेही बनाउनु पर्नेमा दिनुपर्ने जिम्मेवारी नदिएको कर्मचारीहरु निरास छन् ।
हेटौंँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान अर्यालले समायोजनका सबै कर्मचारी आइसकेपछि जसको जे जिम्मेवारी हो उसैलाई सोही जिम्मेवारी दिइने बताए ।
केही समय लाग्न सक्ने भन्दै उनले समायोजनमा आएका कर्मचारीहरुलाई निरास नभई काम गर्न आग्रह गरे । ‘धेरै कुरा मिलाउनुपर्नेछ, मिलाउँछौँ– उनले भने ।
