मुख्यमन्त्री पौडेलले ओगटेर बसेपछि भौतिक पूर्वाधार मन्त्रालय लावारिस भयो : सांसद् थापा
मकवानपुर २३ फागुन । प्रदेश नम्बर ३ को अर्थ तथा विकास समितिको बुधबार बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्रालय आफैंले ओगटेर बस्दा विकासका काम हुन नसहेको भन्दै सांसद्हरु मुख्यमन्त्री पौडेलमाथि खनिए ।
काम गर्ने मन्त्रालयनै आफैंले ओगटेर बस्दा विकासका काम नदेखिएको टिप्पणी सांसद्हरुले गरे । सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालय आफैंले सम्हालेपनि बजेट कार्यान्वयनमा असफल भएको भन्दै सांसदहरुले पौडेलप्रति आक्रोश समेत व्यक्त गरे ।
पुँजिगत बजेट खर्च ज्यादै न्यून भएको, हचुवाको भरमा बजेट विनियोजन गरेको, स्थानीय तथा डिभिजन कार्यालयहरुलाई योजनामात्रै दिएको तर खर्च गर्ने अख्तियारी नदिएको भन्दै प्रदेश सरकारको लाजैमर्दो अवस्था भएको सांसद्हरुले टिप्पणी गरे ।
सांसद् शशीजंग थापाले मुख्यमन्त्रीकै कारण मौतिक पूर्वाधार मन्त्रालय लावारिस भएको समेत टिप्पणी गरे । सबैभन्दा बढी बजेट भएको भन्त्रालय मुख्यमन्त्री आफैंले ओगटेर राखेको भन्दै उनले अहिलसम्म मन्त्री नियुक्त गर्न प्रदेश सरकारले किन नसकेको भन्दै प्रश्न समेत गरे ।
उनले भने ‘ सबै सांसदहरु क्षमतावान् छन् कोही एक जनालाई जिम्मेवारी दिए भौतिक पूर्वाधार मन्त्रालयको काम पनि देखिन्थ्यो की ?’ मुख्यमन्त्री पौडेल आफैंले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्न नभ्याएको उनले बताए ।
