सेभेन ए साईडको उपाधि सिद्धार्थको पोल्टामा

तु खबर संवाददाता
२०७५ कार्तिक १,बिहीबार १८:२८

हेटौँडा, १ कात्तिक । विजया दशमीको अवसरमा सगरमाथा युवा क्लब हेटौँडा–१९ डुमारेद्वारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिदार्थ युवा क्लब हेटौँडा १९ ज्यामिरेले जितेको छ । बुधबार भएको फाईनल खेलमा बुद्धमार्ग युवा क्लब हेटौँडा ११ सरस्वतीलाई ८–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको कार्यक्रम संयोजक कल्पना लामाले जानकारी दिईन् ।

जितसँगै सिदार्थले नगद ८ हजारसहित प्रमाणपत्र, ट्रफी र मेडल तथा उपविजेता बुद्धमार्गले ४ हजार सहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । खेलको उत्कृष्ट खेलाडी सिदार्थका अशोक तामाङ हुन सफल भएका थिए । विजेता र उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बुधबार भएको समापन कार्यक्रमका प्रमुख अतिथि विशाल ब्लोनले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा स्थानीय समाजसेवी श्यामबहादुर घलान, असई भरत राउत कुर्मी लगायतको आतिथ्यता रहेको थियो ।