वडाध्यक्षज्यु, यो खाल्डैखाल्डो र हिलाम्य बाटो हिँड्नु भएको छ ?

तु खबर संवाददाता
२०७५ आश्विन २७, शनिबार १२:३६

मकवनपुर २७ असोज । नेपाल विद्युत प्राधिकरण केन्द्रीय वर्कशपदेखि लट्टिनाथ प्लटिङतर्फ जाने बाटो, बाटो जस्तो छैन् । बर्खामा जस्तै बाटोमा  खाडल बनेको छ र त्यसमा पानी जमेको छ ।

तर, भत्किएको यो सडक निर्माण गर्नका लागि वडा नं. ५ को वडा कार्यालयले वास्ता गरिरहेको छैन । सर्वसाधारणले बाटो मर्मतका लागि वडा कार्यालयलाई भन्दाभन्दै थाकिसकेका छन् । तर, वडा अध्यक्ष राजेश बानियाँले यो बाटो मर्मत गर्ने तर्फ चासो दिएका छैनन ।

चाडबाडको समयमा पनि बाटोमा कम्तीमा ग्रेभलसम्म नहुँदा सोही बाटो भएर ओहोरदोहोर गर्ने सर्वसाधारण वडाका प्रतिनिधिलाई धारे हात लगाइरहेका छन् । वडा कार्यालयले कुनै चासो देखाएन, स्थानीयले गुनासो गर्न थालेका छन् ।

स्थानीयको अनुसार रातको समयमा यात्रा गर्नेहरुको लागि त झनै असहज र जोखिम बढ्दै गएको छ । हेटौंडाको मेनरोडबाट हुप्रचौर हुँदै कान्तीराजपथ तर्फ छिर्ने मुल सडकको यस्तो अवस्था हुँदा समेत सरोकारवालाहरुको ध्यान जान सकेको छैन ।

यस विषयमा तु खबरले  हेटौंडा उपमहानगरपालिकाका ५ नम्बर वडाअध्यक्ष राजेश बाँनियालाई प्रतिक्रियाको लागि पटकपटक गरेको फोन सम्पर्कको प्रयास असफल भयो ।

स्थानीय तह हुँदा वडाका संभव भएसम्मका काम छिट्टै हुन्छ भनेर आसा राख्नेहरु जनप्रतिनिधिले टेर्दै नटेरेपछि हैरान भएका छन् ।