रेमिट्यान्सको मात्र भर पर्दा अर्थतन्त्र डामाडोल हुनसक्छ : अर्थ समिति सभापति दाहाल
मकवानपुर । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले युवाहरुले खाडीमा बगाएको पसिनाको रेमिट्यान्सले देश चलिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । आज हेटौंडामा अग्रणी बचत तथा ऋण सहकारी सस्थाले उद्यममा संलग्न समूहलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रममा सभापति दाहालले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
युवाहरु बिदेश पलायन भइरहेको अवस्थालाई जसरी पनि कम गर्दै स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । आफ्नो ठाउँबाट हुन सक्ने काम सबैले गरौँ, युवाहरुलाई आर्थिक रुपमा बलियो बनाउन कार्यक्रमहरु गरौँ, सहुलियतमा ऋण उपलब्ध गराऔँ, दाहालले भने ।
त्यसैगरी कार्यक्रममा जिल्ला युवा समितका अध्यक्ष सन्तोष चौलागाइले सबै स्थानीय तहले युवा स्वरोजगार कार्यक्रम तय गरी युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
