हेटौंडामै रहेको पानी उद्योगमा ताला लगाएपछि बाहिरी जिल्लाको पानी छ्याप्छ्याप्ती
मकवानपुर १४ भदौ । मकवानपुरको पानी उत्पादन गर्ने उद्योगहरुलाई स्थानीय प्रशासनले उत्पादनमा रोक लगाएपछि बाराको बी २ र चितवनको पियुस नामक पानी हेटौंडाको बजारमा छ्याप्छ्याप्ती विक्री वितरण भइरहेको छ । यसरी मकवानपुर भित्रिएको पानी शुद्ध छ वा छैन स्थानीय प्रशासन बेखबर छ ।
पानी प्रशोधनमा शुद्धता कायम गर्न नसकेको भन्दै हेटौंडाका चार वटा पानी कम्पनीलाई अनुगनमनपछि पानी उत्पादन गर्न रोक लगाएको थियो । पानी उत्पादनमा स्थानीय प्रशासनले रोक लगाएपछि ती उद्योगका संचालकहरुले पानीको परिक्षण गरी शुद्धता कायम राख्ने प्रतिवद्धता सहित स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा निवेदन दर्ता गराएका छन् । त्यसरी निवेदन दर्ता गरिएको भएपनि उनीहरुको उद्योग खुल्न सकेको छैन । यहि अवसर छोपेर छिमेकी जिल्लाबाट करीव ७/८ सय जार हेटौंडाको बजारमा विक्री भइरहेको छ ।
प्रशासनले ‘आक्वा टाईम’, ‘अमृत जल’ , र ‘माई चोईस’ नामक पानी कम्पनीको उत्पादन तथा विक्रि वितरणमा रोक लगाएको भएपनि अहिले सो उद्योगहरुले पानीको शुद्धता नियमित रुपमा प्राविधिक राखेर परिक्षण गरी सो को रिपोर्टसमेत खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा बुझाएका छन् । प्रतिवद्धतासहितको निवेदन परेपनि आलटाल भइरहेको स्रोतको दावी छ । स्रोतका अनसार, खाद्यका कार्यालय प्रमुख राजकुमार रिजालले बद्नियत राखी पानी उद्योगहरुमा अहिलेसम्म ताला लगाइरहेका छन् ।
हेटौंडामा संचालनमा रहेको पानी उद्योगमा ताला लगाइदिएपछि बाहिरी जिल्लाबाट हेटौंडा भित्रिएको पानी शुद्ध छ वा छैन भन्ने विषयमा स्थानीय प्रशासनले वास्ता गरेको छैन । बाहिरी जिल्लाका पानी हेटौंडा भित्रिरहेको सन्दर्भमा त्यसको परिक्षण भएका छ वा छैन यस बिषयमा कतैतिरबाट पनि आधिकारिक जानकारी पाउन सकिएको छैन । बारामा उत्पादन हुने बी २ पानीको शुद्धता कसले हेर्ने हो त्यस विषयमा पनी अल्यौल छ ।
दुषित पानी बेचेको खण्डमा उद्योगलाई आवश्यक कारवाही गर्ने र सुधार भएमा विक्री वितरणमा सहजता ल्याउने काम स्थानीय प्रशासनकै हो , किन खाद्य यस विषयमा नकारात्मक छ त्यो भने बुझ्न सकिएको छैन ।
