टिप्पणी : प्रदेश राजधानीमै बढ्यो सुरक्षा थ्रेट

तु खबर संवाददाता
२०७५ भाद्र १४, बिहीबार १०:५०
file photo

मकवानपुर । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गएराति एसबिआई बैंकको सटर फोरेर लुट्ने प्रयास भएको छ । हेटौंडाको राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट भने नगद ७० हजार र रिचार्ज कार्ड लुटिएको छ । उच्च सुरक्षा सतर्कता भएको भनिएको सदरमुकाम र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिव ३/४ मिनेटको अन्तरालमा दुबै स्थानमा पुग्न सकिने विन्दु्लाई लक्षित गरी यस्तो हर्कत भएको छ ।

जिल्ला प्रहरी कार्यालय र बुद्धचोकको बीचमा प्राइम लोकेशनमै पैसा लुटिएको छ । प्रहरीको ब्यापक मुभमेन्ट हुने राप्तीरोडमै आइएमई काउन्टरमा चोरले ५/७ मिनेटभित्रै पसल फोड्दासमेत प्रहरी संयन्त्रले अत्तोपत्तो पाएन । उता, एसबिआई बैंकमा पनि त्यस्तै भयो । लस्करै रहेको बैंकको चार वटा सटरको डबल ताला फोड्दासमेत सोही बैंकको भित्र बसेका सुरक्षा गार्डले पत्तो पाएनन् । प्रहरीले बिहान ६ बजेपछि मात्रै थाहा पायो ।

प्रहरीको आँखै अगाडिबाट रकम लुटियो र बैंकको सटर फोडियो तर प्रहरी भने वेखबर बन्नुले हेटौंडाको सुरक्षा धरापमा छ भन्ने स्पष्ट देखिएको छ । सदरमुकामको सुरक्षा व्यवस्था यस्तो नाजुक भएपछि प्रहरीले गर्छ चाहिँ के भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वुद्धिराज गुरुङलाई सदरमुकामको सुरक्षा व्यवस्थामा यस्तो लापरवाही देखियो नि भनेर तु खबरले जिज्ञासा राखेको थियो । उनले कमीकमजोरीका कारण यस्तो घटना भएको बताए । प्रहरी त जिल्लैभरि छ तर कमीकमजोरीकै करण यस्तो घटना हुन पुग्यो, उनले भने ।

प्रदेश सदरमुकाम हेटौंडा सुरक्षामा यति साह्रो कमजोर हुन नपर्ने हो तर बुद्धचोकमा प्रहरी राखेर दिनभरि तमासा देखाउने प्रहरीले राति भने सुरक्षामा गम्भीर लापरवाही गरेको छ । नत्र भने जिल्ला प्रहरी कार्यालयबाट २ मिनेट जस्तोमा साथीको मनी ट्रान्सफर छ । यति नजिकै सटर र ताला फोरेर रकम लुटिनु सामान्य होइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*