मनहरीमा किसानले पालेका गाईभैँसीको कृत्रिम गर्भधान निःशुल्क हुने, अर्गानिक खेतीकालागि पनि प्रोत्सहान
मकवानपुर, ७ भदौ । मकवानपुरको मनहरीमा पशुपालक किसानले पालेका गाईभँैसीको कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिइने भएको छ । मनहरी गाउँपालिकाले गरेको घोषणा अनुसार चालू आर्थिक बर्ष २०७५–७६ को स्वीकृत बजेट तथा कार्यक्रममा पशुपालक किसानहरुका लागि यस्तो व्यवस्था गरिएको हो ।
गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फत कृत्रिम गर्भाधान सेवालाई निःशुल्क गर्न लागेको हो ।
साथै गाउँपालिकाले कृषकहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गराउनका लागि अर्गानिक मल खरिदमा अनुदान दिने भएको छ । अर्गानिक मल खरिद गर्दा किसानले ५० प्रतिशत अनुदान प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
मनहरी गाउँपालिकाका किसानहरु मुख्यतः कृषि पेसामा आधारित छन् । वडा नं १, २, ३, ५, ९ र ७ मा परम्परागत खेती हुने गरेको छ भने वडा नं ६ र ८ मा बेमौसमी खेती हुनेगरेको छ ।
