भारत लैजान लागिएको २०३ किलो गाँजा बरामद, ६ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार ०७:५९

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुर तथा लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा छुट्टाछुट्टै घटनामा २०३ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

गाँजा ओसारपसारमा एक भारतीय र एक नेपाली गाडी प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एउटा भारतीय बोलेरो गाडीलाई मकवानपुर जिल्ला मनहरी गाउँपालिका–९ खरंगाबाट ४ जनासहित ८८ केजी ७२० ग्राम गाँजा र यसैगरी ना ३ च ४७६२ नम्बरको सेतो बोलेरो पिकअपमा फल्सबटम बनाइ लुकाईछिपाई मकवानपुरबाट महोत्तरी हुँदै भारततर्फ लान लागिएको ११५ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मनहरी गाउँपालिका–९ खरंगाबाट पक्राउ पर्नेहरुमा उदयपुर जिल्ला ताप्ली गाउँपालिका–१ का ५८ बर्षका पदम हमाल ठकुरी, सिरहा जिल्ला धनगढी नगरपालिका–३ बस्ने बर्ष ३५ का सुरेश महतो, सिरहा जिल्ला औरही गाउँपालिका –२ का बर्ष ४४ का छेदी दास र मकवानपुर जिल्ला राक्सिरांग गाउँपालिका–१ बस्ने बर्ष ४२ का कृष्ण बहादुर मोक्तान रहेका छन् ।

यसैगरी ना३च ४७६२ नम्बरको सेतो बोलेरो पिकअपमा फल्सबटम बनाइ लुकाईछिपाई मकवानपुरबाट महोत्तरी हुँदै भारततर्फ लान लागिएको ११५ केजी गाँजासहित सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१२ बस्ने बर्ष ३६ को दिनेश मगर र सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–७ बस्ने ३१ बर्षका ज्ञान बहादुर बुढासैली हेटौडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक मधुकुमार थापाका अनुसार, पक्राउ परेका ६ जनालाई नै लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान र कारवाही भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*