मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण लिन सकिने
काठमाडौँ, १४ साउन । नेपाल सरकारले व्यवस्था गरे अनुसार आउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सकिने भएको छ ।
सरकारले विद्यार्थीलाई बजेट घोषणाका क्रममा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको बताइएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि भर्खरै मात्र वार्षिक कार्ययोजना बनाएको छ । वार्षिक कार्ययोजनामा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने योजनालाई प्राथमिकतामा राखिएको छ ।
अर्थ मन्त्रालयको कार्ययोजना अनुसार भदौभित्र ऋण सम्बन्धी कार्यविधिको मस्यौदा बनाएर स्वीकृत गर्ने र भदौमा नै अवधारणासहितको कार्यविधि बनाएर स्वीकृत गर्ने मन्त्रालयको योजना छ । त्यसपछि असोजमा ऋण दिनको लागि प्रस्ताव माग गरिनेछ । प्रमाणपत्र धितो राखेर ऋण दिन इच्छुक बैंकहरुले असोजमा प्रस्ताव पेश गर्नेछन् । मन्त्रालयले बैंकहरुको प्रस्ताव मूल्याँकन गर्नेछ ।
कात्तिकभित्र प्रस्तावको मूल्याँकन गर्ने अर्थ मन्त्रालयको योजना रहेको छ । कात्तिकमा प्रस्तावहरुको मूल्याँकन सक्ने र कर्जा सुरक्षण, विमा लगायतका तयारी सकेर मंसिर लाग्नेवित्तिकै ऋण दिने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
