नारायणी यातायात पनि कम्पनीमा दर्ता
मकवानपुर, २९ असार । नेपाल सरकारले यातायातमा भएको एकछत्र सिण्डिकेटलाई तोड्ने अभियान चलाएपछि व्यवसायी संघहरु समेत कम्पनीका रुपमा दर्ता हुने क्रम सुरु भएको छ । नेपालको सबै यातायात ब्यवसायी संघ सस्थाको नविकरण नगर्ने नीति सरकारले लिएपछि देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ समेत अब कम्पनीको रुपमा दर्ता भइ संचालनमा आएको छ ।
कम्पनी रजिस्टार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम नारायणी संघ हेटौँडा दर्ता गरिएको तत्कालिन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिएका छन् । कम्पनी रजिस्टारको कार्यालयमा गत असार २६ गते मंगलबार संघ दर्ता गरिएको र संघको दर्ता नम्बर १९३०५९ रहेको छ । आज संघको कार्यालयमा यातयात ब्यबसायीहरुको भेलामा आयोजित कार्यक्रममा संघमा आवद्ध २६ जनाको कार्य समिति नै सञ्चालक समिति रहने गरी नारायणी संघ दर्ता गरिएको जानकारी दिइएको छ ।
सामाजिक संस्थाका रुपमा बिकास गर्ने,नाफारहित संस्थाको रुपमा बिकास गर्ने र नारायणी यातायात व्यवसायी संघ जस्तै सामाजिक संस्थाको रुपमा अगाडी बढाउने गरी कम्पनीका रुपमा दर्ता गरिएको हो । एक अध्यक्षसहित २६ जना सञ्चालक सदस्य रहने र संघको वार्षिक साधारण सभाको निर्णयबाट नयाँ सञ्चालक समिति गठन गर्ने खनालले बताएका छन् ।

