८ महिनामै १६ हजार उद्योग दर्ता

तु खबर संवाददाता
२०७५ जेष्ठ १४, सोमबार १५:०६
तस्बिर–गुगल

काठमाडौँ, १४ जेठ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् । प्रदेश नं १ मा एक हजार ९०४, प्रदेश नं २ मा तीन हजार १८७, प्रदेश नं ४ मा दुई हजार ३७१, प्रदेश नं ५ मा तीन हजार ७७४ तथा प्रदेश नं ७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन् ।

हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । चालू आवको आठ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन् । पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन् ।

स्थानीय स्रोतसाधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघु उद्यम कार्यक्रमअन्तर्गत चालू आवकोे आठ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ । सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन् । उक्त कार्यक्रममार्फत गरीबीको रेखामुनि रहेका करीब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*