अफगानिस्तानको संयुक्त सेना कारवाहीमा ११ तालिवानको ज्यान गयो

तु खबर संवाददाता
२०७५ जेष्ठ १०, बिहीबार १५:४४
तस्बिर–गुगल म्याप

अफगानिस्तान, १० जेठ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी दिनुभएको छ ।

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ । झडपको क्रममा ११ जना आतङ्ककारी मारिएका र अरु घाइते भएका अफगान गृह प्रशासनले पनि एक विज्ञिप्तमार्फत जानकारी दिएको छ ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका छन् । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको छैन । उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका थिए ।

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमला गरी हिंसाका घटनामा वृद्धि गराएका छन् भने सेनाले पनि कारबाही जारी नै राखेको छ । तालिबान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । गत महिनामात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपी रुपमा निन्दा गरिएको थियो । (रासस/सिन्ह्वा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*