हेटौँडामा निता ढुङ्गाना र शुसान्त श्रेष्ठसहित दुई पत्रकारलाई सम्मान गरिने

हेटौँडा, ७ जेठ । लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई आज सम्मान गरिने भएको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा आज साँझ हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो ।
नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र पञ्चायतमा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता थुप्रै हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।
त्यस्तै चलचित्र पत्रकार संघ मकवानपुरले प्रदान गर्ने चलचित्र पत्रकारिता पुरस्कारबाट यो बर्ष जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलनलाई सम्मान गरिने भएको छ । उनलाई नगद ५ हजार सहित सम्मान गरिने भएको हो । साथै दोश्रो पटक वितरण गर्न लागेको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रीलाई सम्मान गरिने भएको छ । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने भएको हो ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले सम्मान कार्यक्रममा सबै पत्रकारहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।