मनहरीमा आमाघरको शिलान्यास, थाइ शान्तिदूतको प्रेमिल वचन

तु खबर संवाददाता
२०७५ बैशाख ३०, आईतवार १९:०५

मनहरी, ३० बैशाख । थाइल्याण्डकी शान्तिदूत अफिनिता चाइचेनाले मनहरी गाउँपालिका ८ स्थित पिसपार्कमा निर्माणाधीन आमाघर आश्रमको भूमिपुजन गरेकी छिन् । भूमिपुजनअघि आयोजित समारोहमा बोल्दै शान्तिदूत चाइचेनाले प्रेम र शान्तिको भावना बृद्धि भएमा जस्तोसुकै अफ्ठ्याराहरुको सामना गर्न सकिने बताइन् । शान्तिदूतले भनिन्–‘हामीहरु विभिन्न योजनाहरु बनाउँछौँ, तर पैसा नहुने हो कि भनेर असफल होला भन्ने डर उत्तिकै लाग्छ ।’ तर असल कार्यमा मन लगाउँदा पैसा आफै जुट्दै जाने उनले बताइन् ।

आफू थाइल्याण्डमा नमोबुद्ध क्लवको अध्यक्ष समेत रहेकाले त्यताबाट पनि निर्माणाधीन आमाघरको निर्माणमा सहयोग पु¥याउने गरी भूमिका खेल्ने उनले प्रतिबद्धता जनाइन् । ‘तपाइँहरु यता सक्रियता जनाइराख्नुस्, हामी उता पनि भूमिका खेल्नेछौँ ।’, उनले भनिन् । आमाघरका लागि आवश्यक स्वयमसेवकहरु समेत परिचालन गर्ने उनले बताइन् । थाइ राजकुमार र राजकुमारीलाई पनि आमाघरमा ल्याएर देखाउने प्रयास गरिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै ३ नं प्रदेश सांसद एबम् नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आमाजातिको संरक्षणका लागि थालिएको अभियानको प्रशंसा गरिन् । भूमिपुजन कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, पूर्व सांसद राजाराम स्याङ्तान, ओमशान्तिको भारतस्थित माउण्ट आवुमा कार्यरत हिरण्य पौडेल, क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, प्रोफेसर रमा श्रेष्ठ, पिस पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश बर्ताैला लगायतले आमाघर आश्रमको बारेमा बोलेका थिए ।

यसैबीच आमाघर आश्रम निर्माणका लागि मनहरी ७ निबासी रामचन्द्र उप्रेतीले ५ लाख ५ हजार ५ सय ५५ रुपियाँ, काठमाडौँ निबासी लब मैनालीले ५ लाख ५५ हजार ५ सय ५५, मनहरी ८ का बिदुर सिलवालले ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ, संगिता दिदीको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । त्यसैगरी अन्य व्यक्तिहरुले पनि सहयोग गर्ने बताएका छन् । सहयोग गर्नेहरुलाई भूमिपुजन कार्यक्रमको अबसरमा सम्मान गरिएको छ । आश्रम निर्माणका लागि स्थानीय गायत्रीमायाँ उप्रेती र सीता मैनालीले जग्गा दान गरेका हुन् ।

कूल ३ करोड लगानीमा निर्माण हुने आमाघर आश्रमका लागि सहयोगी दाताहरुको सहयोग जारी रहेको आश्रम निर्माण समितिका संयोजक रामचन्द्र उप्रेतीले बताए । उनका अनुसार हालसम्म आमाघर निर्माणका लागि ४२ लाख ६१ हजार ९ सय ८१ रुपियाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । आमाघरमा ८० जना आमाहरुलाई पूर्णकालीन पालनपोषणको व्यवस्था मिलाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*