कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्
काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ ।
गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै चाँडो तलब भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
कर्मचारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसकिएका कारण विभिन्न समस्या आएको, त्यसमा कार्यरत कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएका कारणले करीब ४०० स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव भइरहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माले अन्य सरकारी निकायभन्दा स्वास्थ्य क्षेत्र निकै भिन्न रहेको बताउँदै तीनवटै स्थानीय तहमा आवश्यक स्वाथ्यकर्मीको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । – रासस
