घरेडीडाँडामा बाटो स्ल्याब हुँदै, एक सय मिटर स्ल्याब हुने

–चन्द्र घलान
हेटौँडा, १५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घरेडीडाँडामा धमाधम बाटो स्ल्याब हुँदैछ । घरेडीडाँडा बस टर्मिनल स्ल्याब उपभोक्ता समितिका अध्यक्ष यदुकुमार नेपाल, समितिका ७ सदस्यसहित वडा नम्बर १२ का जनप्रतिनिधि र स्थानीयको सक्रियतामा बाटो स्ल्याब गरिएको स्थानीय रामहरी पोखरेलले जानकारी दिए ।
४ मिटर चौडाई र ७ ईन्च मोटाई रहेको स्ल्याब ९६ मिटर स्ल्याब गर्ने तय भए पनि करिब १०० मिटर बाटो स्ल्याब गरिने बताइएको छ । स्ल्याब ढलानका लागि हेटौँडा उपमहानगरपालिकाबाट ५ लाख बजेट छुटाइएको छ । त्यस्तै जनश्रमदानबाट १ लाख ४ हजार ५२ रुपैयाँ ६२ पैसा र उपभोक्ता समितिबाट ६६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा गरि कुल ६ लाख ७० हजार ७ सय १९ रुपैयाँ २९ पैसाको लागतमा स्ल्याब ढलान भएको हो ।

बाटो निर्माण स्थलमा वडाअध्यक्ष घलानसहित समिति सदस्य तथा स्थानीयहरु
स्ल्याब निर्माण कार्यलाई वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानले समेत अवलोकन गरिसकेका छन् । जनप्रतिनिधिहरुको सक्रियतामा वडा नम्बर १२ र १३ (पदमपोखरी) का विभिन्न स्थानहरुमा अहिले बाटो स्तरिकरण, नयाँ ट्रयाक खोल्ने तथा बाटो स्ल्याब गर्ने कार्यले तिब्रता पाएको छ ।

बाटो निर्माण स्थलमा वडाअध्यक्ष घलानसहित समिति सदस्य तथा स्थानीयहरु