हेटौँडाका व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम
हेटौँडा, १४ बैशाख । मकवानपुरको हेटौँडामा व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम दिइएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा कार्यक्रम भएको हो ।
सरकारी नियमानुसार हिसाब–किताब राख्न सरल बनाउने उद्देश्यका साथ लेखा तथा कर शिक्षा तालिम आयोजना गरिएको संघले जनाएको छ । तालिम लिए पश्चात कुनै पनि व्यवसायी लेखा तथा कर शिक्षाको अभावमा असक्षम भै कानूनी कारवाहीको भागीदार बन्न नपर्ने विश्वास लिइएको छ । कार्यक्रमलाई हरेक महिना निरन्तरता दिने संघले जनाएको छ ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको तालिममा संघका वस्तुगत सदस्यहरु मोवाईल एशोसियसन अफ नेपाल, क्यान महासंघ मकवानपुर , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, मकवानपुर ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स व्यवसायी संघ, साथै अन्य वस्तुगत संघका अध्यक्ष लगायत सम्वन्धित व्यवसायीहरु सहभागिता रहेको थियो ।
तालिममा आन्तरिक राजश्व कार्यालय मकवानपुरका कर अधिकृत दिलक आचार्यले आय कर सम्बन्धी प्रशिक्षण दिएका थिए । साथै मुल्य अभिवृद्धिकरका बारेमा अडिटर एशोसियशनका अडिटर सकुल श्रेष्ठले सहजिकरण गरेका थिए ।
