विद्यार्थीले प्रतिबद्धत्ता जनाउँदै भने–‘हामीलाई पदमपोखरी बहुमुखी क्याम्पस नै प्यारो छ ’

–चन्द्र घलान
हेटौँडा, १० बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुको फेयरवेल (बिदाई) कार्यक्रम चल्दै गर्दा एक विद्यार्थीले भनिन् ‘हामीलाई विद्यालय हातामा नै संचालन भइरहेको पदमपोखरी बहुमुखी क्याम्पसको धेरै माया छ, म बिबिएस प्रथम वर्ष यही क्याम्पसमा पढ्छु ।’ उनको यो अभिव्यक्तिले त्यहाँका शिक्षकहरुको खुशीको सिमा रहेन । कारण एउटै थियो, गाउँमा भएको क्याम्पसलाई हेला गरेर हुलका हुल बजारतिर जाने विद्यार्थीहरुको जमातमा उनले फरक विचार राखेकी थिईन् ।
उनी हुन्, कक्षा १२ मा अध्ययनरत विद्यार्थी निर्मला थिङ । विद्यालयमा आज भएको बिदाई कार्यक्रममा कक्षा १२ का तर्फबाट बोल्दै उनले त्यस्तो प्रतिबद्धत्ता जनाएकी हुन् । ‘हाम्रो आफ्नै स्थानीय क्याम्पसमा पढ्न पाउनु हाम्रो लागि खुशीको कुरा हो, हामी सबै साथीहरु यहीँ पढ्छौँ,’ उनले थपिन् । उनको जस्तै विचार कक्षा ११ मा अध्ययनरत विद्यार्थी आयुष लामाले समेत राखे । उनले गाउँमा नै भएको क्याम्पसलाई बन्द हुने अवस्थामा पुराउन नहुने भन्दै सोही क्याम्पसमा नै अध्ययन गर्ने बताए । विद्यार्थी दुबै जनाको कुरामाथि सही थप्दै विद्यालयका प्रधानाध्यापक शंकरबहादुर थिङले समेत सोही क्याम्पसमा अध्ययन गर्न सुझाव दिए । साथै क्याम्पसको भविष्यप्रति आफु पनि चिन्तित रहेको बताए । उनले क्याम्पसलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धत्तता समेत जनाए ।
विद्यार्थीहरुको कुरा सुनिसकेपछि कार्यक्रमकी प्रमुख अतिथि एवं पदमपोखरी बहुमुखी क्याम्पसकी प्रमुख कृष्णमाया लटौलाले अहिलेसम्म वाणिज्य संकायमात्रै अध्यापन गराईदै आए पनि विद्यार्थीको मागलाई हेरेर छिट्टै नै शिक्षा शास्त्र तथा मानविकी संकायको समेत संचालन गर्ने बताए । क्याम्पसप्रति विद्यार्थीहरुको माया देखेर खुशी भएको बताउँदै उनले सबै विद्यार्थीले शिक्षा आर्जनका लागि क्याम्पसलाई सम्झिदिएमा हेटौँडाका क्याम्पसहरुमा हजारौँ खर्चनु पर्ने बाध्यताबाट समेत विद्यार्थीका अभिभावकहरुले छुटकारा पाउनसक्ने विचार राखिन् । विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत गर्न आफु तम्तयार भएर बसेको उनले बताईन् ।
कक्षा ११ का तर्फबाट आयोजित बिदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकरबहादुर थिङ र क्याम्पस प्रमुख कृष्णमाया लटौलाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा शिक्षक रामकृण रोक्काले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक महेन्द्र तामाङले उद्घोषण गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अमरनिधि उप्रेती, कक्षा ११ का आयुष र १२ की विद्यार्थी निर्मलाले मन्तव्य राखेका थिए ।
वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त पदमपोखरी बहुमुखी क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्साहन दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आइएता पनि धेरै विद्यार्थीहरु पदमपोखरीबाट हेटौँडामा नै अध्ययनका लागि जानुले शिक्षाविदहरु समेत चिन्तामा छन् । तर पहिलाको तुलनामा अहिले विद्यार्थीहरुको समेत क्याम्पसप्रति झुकाव बढेको छ ।
पदमपोखरीमै क्याम्पस भएको अवस्थामा त्यहाँबाट सयौँ विद्यार्थी हेटौँडा बजारका क्याम्पसमा आउने गर्दा क्याम्पसमा विद्यार्थीको समेत अभाव परेको थियो । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली विभिन्न योजनासहित अगाडि बढेका छन् । योजना अनुसार नै क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति गएको चैत २१ गतेबाट चैत २९ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समेत गरिएको थियो । सप्ताहमा ३६ लाख ६१ हजारको हाराहारीमा सहयोग संकलन भएको थियो ।
सप्ताह ज्ञान महायज्ञमा पहिलो पटक पण्डित गुरु तथा बौद्ध गुरुबाट एकै स्थानमा भागवत पुजा अर्चना तथा पाठपरायण भएको थियो । सप्ताहमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।