शेयर कारोबारका बारेमा जनचेतना जगाउन आवश्यक भएको ठहर

तु खबर संवाददाता
२०७५ बैशाख ६, बिहीबार १८:३७

मकवानपुर, ६ बैशाख । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शेयर कारोबारका बारेमा व्यापक जनचेतना जगाउनु आवश्यक भएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल धितोपत्र बोर्डको संयूक्त आयोजनामा आज हेटौँडामा भएको ‘पुँजी बजार सम्वन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै प्रमुख खुलालले यस्तो बताएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख खुलालले सानो सानो पुँजीले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए । लगानीको सुरक्षित वातावरण बन्नुपर्ने बताउँदै उनले शेयर कारोबारका बारेमा विविध कार्यक्रमको महत्व रहेको बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लामा शेयर कारोबारका बारेमा विभिन्न किसिमको प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र व्यक्ति तथा राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए ।

त्यस्तै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले धितोपत्र वोर्ड कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै धितोपत्र बजार सम्बन्धी पछिल्लो अवस्थाको जानकारी र यसबाट विगत तथा वर्तमानको अवस्थाका बारेमा तुलनात्मक जानकारी दिएका थिए । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*