चौघडा बचत नयाँ भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन
हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवन उद्घाटन गरेपछि सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको हो ।
सहकारीको नवौं बार्षिक स्थापना दिवसको अवसरमा भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले देशको अर्थतन्त्रको एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले अब संगठित ढंगबाट उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले सहकारीले उत्पादनमुलक उद्योग स्थापना गर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, सहकारीका कोषाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुनप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीले ४५ लाख रुपैँयाको लागतमा ९ कोठे एकतल्ले पक्कि भवन निर्माण गरेको हो । १ हजार ६ सय शेयर सदस्य रहेको संस्थाको कारोबार १५ करोड रुपैँया रहेको छ ।
