तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

मकवानपुर, २८ चैत । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर ३ का मुख्य प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले खादा ओढाएर तामाङ पत्रकार संघ मकवानपुर शाखाका अध्यक्ष चन्द्र घलान, उपाध्यक्ष जनक तामाङ, सचिव दिलबहादुर रुम्बा, कोषाध्यक्ष सुनु थिङ, सहसचिव राममाया वाईबा तथा सदस्यहरु जयराम मोक्तान, दिपक सिं रुम्बा, भुवन घलान, सन्देश थिङ, कौशिला वाईबा, कुमारी गोले र केन्द्रीय सदस्यहरु शुभराज भोम्जन र दुदुमाया सिन्तानलाई सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बानियाँले नयाँ वर्षको पूर्व सन्ध्यामा हुन लागेको कार्यक्रमको सफलताको शुभकामना दिँदै मनोरञ्जन सबैलाई आवश्यक पर्ने बताए । उनले देश विकासको गतिमा अगाडि बढ्ने चरणमा भएको बताउँदै चुनावका बेला जनताहरु आ–आफ्नो आस्थाका कारण विभिन्न पार्टीमा लागेता पनि अहिले चुनाव सकिसकिएको अवस्थामा समाजको समृद्धि र विकासका लागि एक ढिक्का भएर अघि लाग्नुपर्ने बताए ।
पदमपोखरी युवा समूह तथा कार्यक्रमका संयोजक धिरेन लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष मनोज वाईबा, वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलान सहित विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा समूहका सुरज थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
पदमपोखरी पार्टी प्यालेसमा आज राति ८ बजेसम्म चल्ने कार्यक्रममा युवाहरुमाझ चर्चित डान्स ग्रुप कार्टुन्ज क्रियुले धमाकेदार प्रस्तुति दिने छन् । त्यस्तै चर्चित गायक सबिन राईले समेत चर्चित गीतहरु गाउने छन् । कार्यक्रममा चर्चित गायक अबिनाश घिसीङ, डिजे जे.के.ले सहित गायक अनराज तामाङ, धिरेन लामा, द रेड डेभिल्स्, द अन्डर साईड पदमपोखरी ब्यान्डको प्रस्तुती रहने छ । साँस्कृतिक कार्यक्रमलागि टिकटमा पचास प्रतिशत छुट सहित रु. १५० मा विक्री भइरहेको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि कडा सुरक्षाको समेत प्रबन्ध गरिएको छ ।
करिब ६ देखि ७ लाखसम्मको खर्च हुने अनुमान गरिएको कार्यक्रममा उठेका सम्पूर्ण रकम खर्च कटाएर करिब ९० प्रतिशत सामाजिक कार्यमा लगाईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा उठेको रकम महेन्द्र मावि पदमपोखरी र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन प्रयोग गरिने भएको छ । साथै अन्य विभिन्न सामजिक कार्यमा समेत रकम खर्च गरिने बताइएको छ ।