पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ सुरु, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

–चन्द्र घलान
मकवानपुर, १९ चैत । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति पदमपोखरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गरेका हुन् । सप्ताहमा बौद्ध धर्म गुरुहरुको मुखारबिन्दबाट बुद्धका ज्ञान उपयोगी कथाहरु वाचन समेत गरिने बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पौडेलसहित हेटौँडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, वडा नम्बर १२ का अध्यक्ष ललित घलान, वडा नम्बर १३ का अध्यक्ष मनोज वाईबा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्काले स्वागत मन्तव्य राखेका थिए भने क्याम्पस प्रमुख कृष्णमाया लटौलाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षतामा भएको हो ।
यहि चैत २९ गतेसम्म हुने महायज्ञको सुरुको दिन आज बिहान ८ बजे शोभा कलश यात्रा भएको छ । शोभा कलश यात्रा पदमपोखरीदेखि हेटौँडा ९ मा रहेको कुष्माण्ड सरोवर त्रिवेणी धामसम्म पुगेर पुन पदमपोखरीसम्म आएर समापन भएको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । शोभा कलश यात्रामा स्थानीय बुद्धिजीवि, शिक्षक, जनप्रतिनिधि तथा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
महायज्ञमा पण्डित सुशिल पौडेलले भागवत कथा वाचन गर्नेछन् भने राष्ट्रिय कलाकारहरुले समेत संगितमय कथा वाचनमा साथ दिनेछन् । गायक तथा कलाकारको संयोजनको जिम्मा दिनेश प्रसाईलाई दिइएको छ । कार्यक्रममा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसे, प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले भागवत तथा बौद्ध ज्ञान वाचन गर्नेछन् ।
सप्ताह अन्तर्गत चैत २२ गतेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण हुने सप्ताह ज्ञान महायज्ञ मुल समारोह समिति पदमपोखरी बहुमुखी क्याम्पसले जनाएको छ । त्यस्तै बिहान ११ बजेदेखि ५ बजेसम्म भागवत कथा प्रवचन, संगीतमय भजन किर्तन र भगवानको झाँकी लिला प्रस्तुत गरिनेछ । प्रत्येक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म महात्मीय कथा, भजन किर्तन झाँकी लिला प्रस्तुत गरिने छ ।
कार्यक्रम अन्तर्गत नै चैत २८ गते बौद्ध धर्म गुरुहरुबाट विशेष प्रवचन दिईनेछ भने चैत २९ गते प्रवचनका साथै तिलार्चन र दिउँसो समापन कार्यक्रम हुने बताइएको छ ।
वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् । क्याम्पसमा हाल ५ जना शिक्षकहरुले कुनै सेवा सुविधा बिना नै अध्यापन गराईरहेका छन् ।