अब २० हजारले पाउनेछन् रोजगारी
काठमाडौँ, १८ चैत । नेपालमा अब करिब २० हजार युवाले रोजगारी पाउने अवस्था भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ३ सय २ वटा नयाँ उद्योग दर्ता भएपछि २० हजारले प्रत्यक्ष रोजगारी पाउने भएका हुन् । ती सबै उद्योगहरुले प्रत्यक्ष रोजगारी दिने उदेश्यका साथ आवेदन दिएकाले रोजगारीको अवसर बढेको हो ।
स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका हुन् । विभागका अनुसार कूल उद्योगमध्ये १९४ वटा उद्योग विदेशी लगानीका र १०८ उद्योग नेपाली लगानीकर्ताले नयाँ दर्ता गरेका हुन् । दर्ता भएका उद्योगहरुमध्ये कृषिजन्य १५, निर्माण सम्बन्धी ३ , ऊर्जामूलक २६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १५, उत्पादनमूलक ८७, खनिज ३, सेवामूलक ६७ र पर्यटन सम्बन्धी ८६ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
दर्ता भएका उद्योगमा रु दुई खर्ब ३२ अर्ब ८७ करोड ९६ लाख बराबरको लगानी हुने भएको छ । विभागका अनुसार पर्यटन क्षेत्रमा मात्रै रु १२ अर्ब ७४ करोड ४० लाख बराबरको नयाँ लगानीसम्बन्धी प्रतिबद्धता आएको छ । ती उद्योगबाट तीन हजार २५८ जनाले नयाँ रोजगारी पाउने भएका छन् । यस्तै सेवामूलक क्षेत्रमा रु तीन अर्ब ८९ करोड ५८ लाख लगानी गर्ने प्रतिबद्धता आएको छ । सो उद्योगबाट करिब तीन हजार जनाले नयाँ रोजगारी पाउनेछन् ।
