२० बर्षे सवारी हटाएपछि हेटौँडामा खैलाबैला

हेटौँडा, १३ चैत । चैत १ गतेदेखि नेपाल सरकारले २० वर्षभन्दा पुरानो सवारी साधन हटाएपछि त्यसले एक प्रकारको बहस सिर्जना गरेको छ । पुरानो सवारी हटाउनु एक प्रकारले सही निर्णय भएको बुद्धिजीवीहरु बताउँछन् । यसबाट दुर्घटनाको जोखिम कम हुने र वातावरण प्रदुषणमा कमी आउनुका साथै सवारी व्यवस्थापनमा समेत सहयोग पुग्ने कतिपयको आँकलन छ ।
तर पुरानो सवारी विस्थापित भएपछि अटो तथा ईरिक्साहरुले मनलाग्दी भाडा लिएको स्थानीय सर्वसाधारणहरुले गुनासो गर्न सुरु गरिसकेका छन् । पहिले १५ रुपैयाँ भाडा दिएर दैनिक कामकाजका लागि नजिकैको बजारसम्म आउने यात्रुलाई अहिले दैनिक ओहोरदोहोर गर्न कम्तिमा पनि १ सय रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । यो समस्या मकवानपुरको मात्र नभई देशव्यापी देखिएको समस्या हो ।
पछिल्लो समय मकवानपुरमा सरकारको निर्णयको विरोध समेत हुन थालेको छ । यसै क्रममा मकवानपुर जिल्ला र हेटौडा नगर क्षेत्रमा देखिएका आम सरोकारका विषय र २० बर्षे सवारी साधन हटाउने नेपाल सरकारको निर्णय पछि उत्पन्न भएका समस्याहरुका बारेमा सोमबार जनसरोकार केन्द्र मकवानपुरले विभिन्न सरोकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाईएको हो । पत्रमा २० बर्ष पुगेका पुराना भाडाका सवारी साधनहरुलाई देश भरि चल्न नदिने भन्ने नेपाल सरकारको निर्णयले पुराना भाडाका सवारी साधनहरु हटाईएको भन्दै सर्वसाधारणहरुलाई आवत जावत गर्नको लागि समस्या परेकोले सरोकारवाला निकायहरु बसेर उचित सवारीको व्यवस्था गर्नको लागि ध्यानाकर्षण गराईएको छ ।
त्यस्तै, हेटौंडालाई प्लाष्टिक मुक्त क्षेत्र भनि पटकपटक निर्णय गरिए पनि व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन नभएकोले यसतर्फ उचित र प्रभावकारी कदम चाल्नुपर्ने लगायतका विभिन्न ११ बुँदे माग राख्दै ध्यानाकर्षण गराईएको जनसरोकार केन्द्र मकवानपुरले जनाएको छ ।