सनराइज बैंकका बचतकर्तालाई स्वास्थ्य बिमा घोषणा
मकवानपुर । सनराइज बैंक हेटौंडा शाखाले आफ्ना बचतकर्तालाई स्वास्थ्य बिमा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा जानकारी दिन आज हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले अब बचतकर्तालाई स्वास्थ्य बिमा तथा दूर्घटना विमा सहज तरिकाले उपलब्ध गराइने घोषणा गरेका छन् ।
यसअघि नै दूर्घटना विमाको व्यवस्था भएपनि त्यससम्बन्धमा सेवाग्राहीहरु जानकार नभएकाले उनीहरुलाई जानकारी दिन पनि आजको कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक खतिवडाले बताए ।

सनराइज बैंकसँग सहकार्य भएका अस्पतालहरुबाट उपचार सेवा लिँदा सेवाग्राहीले २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
हेटौंडाको हकमा चुरेहिल अस्पताल र सिटी अस्पतालसँग बैंकले सहकार्य गर्ने पनि त्यस अवसरमा जानकारी दिइयो ।
बैंकमा खाता भएकाहरुका लागि एक लाखसम्म उपचार बिमा र ५ लाखसम्मको दूर्घटना विमाको व्यवस्था गरिएको र यसलाई डबल सुरक्षा धमाका नाम दिइएको छ ।
शाखा प्रबन्धक खतिवडाले बताए अनुसार, अस्पतालबाट डिस्चार्ज भएको १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकमा सम्पर्क राख्नुपर्ने छ ।
