कोरिया जान चाहानेका लागि अवसर–नवौँ ईपिएस परिक्षाको आवेदन भोलिबाट खुल्ने
काठमाडौँ, ७ चैत । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि अर्को अवसर आएको छ । भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकिएको बताएको छ ।
ईपिएस परिक्षा दिन चाहानेहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ ।

आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ ।
ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ तर, शुल्क भने बैँकबाटै तिर्नुपर्ने छ । परीक्षा आउँदो जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् भने अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्ने ईपिएस नेपाल शाखाले जनाएको छ ।
यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । ईपिएस कोरिया शाखाको वेबसाईटमा तपाई हेर्न सक्नुहुनेछ ।

