३ नम्बर प्रदेशसभा सचिवालयमा आज ३ वटा विधेयक दर्ता हुँदै

मकवानपुर, २ चैत । प्रदेश नम्बर ३ मा आज ३ वटा विधेयकहरु प्रदेशसभा सचिवालयमा दर्ता हुँदैछ । सरकारले पूर्णता पाएपछि हिजो दोस्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले सर्वसम्मत गरेको तीन ३ वटा कानूनका विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्न थालिएको हो ।
सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धि, स्थानीय तहका पदाधिकारी–सदस्यको सेवा सुविधा सम्बन्धि र आर्थिक कार्यविधि सम्बन्धि विधेयक दर्ता गर्न सिफारिस गरिएको प्रस्ताव हिजोको बैठकबाट सर्वसम्मत भएपछि आज प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गरिने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए ।
बैठकले प्रदेश सरकार सञ्चालनका लागि ३ वटा समिति समेत बनाएको थियो । जसअन्तर्गत मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा राजनीतिक समिति, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको संयोजकत्वमा सामाजिक तथा पूर्वाधार विकास समिति र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा प्रशासनिक समिति गठन गरिएको छ ।
हिजो दिउँसो साढे ४ बजेदेखि करिब ५ घण्टा बसेको बैठकले तयारी अवस्थामा रहेको ३ वटा कानूनका विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गर्ने, प्रवक्ता तोकिएको सम्बन्धमा र तीन वटा समिति निर्माण गरिएको सम्बन्धमा सर्वसम्मत निर्णय गरेको थियो । हिजोको बैठकले प्रदेश सरकारको प्रवक्ताका रुपमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई तोकिसकेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेलले चैत दोस्रो साताभित्र ४ महिनाका लागि बजेट र विकासका योजना ल्याइने र प्रदेश स्तरका विधेयक समिति निर्माण गरेर कानून निर्माणलाई तीब्रता दिने सैद्धान्तिक सहमति भएको जानकारी दिएका छन् ।

तस्बिर–गुगल
–हेटौँडा सन्देशको सहयोगमा