डिप्रोक्सको कारोबार : ८ महिनामा करिब ९ करोड लगानी, साढे २ करोड बचत
मकवानपुर, २ चैत । विगत १५ वर्षदेखि कृषि तथा पशुपालन गर्ने किसानलाई केन्द्रित गर्दै हेटौँडामा वित्तीय कारोबार गर्दै आएको डिप्रोक्स लघुवित्त विकास संस्थाले बिहीबार हेटौंडामा वित्तीय साक्षरतासम्बन्धी गोष्ठी आयोजना गरेको छ । मकवानपुरमा रहेका संस्थाका विभिन्न ७० वटा केन्द्र प्रमुखको सहभागितामा एकदिने गोष्ठीको आयोजना गरिएको हो ।
संस्थाले चालु आर्थिक वर्षको ८ महिनामा ८ करोड ७७ लाख रुपियाँ लगानी गरेको र २ करोड ५६ लाख रुपियाँ बचत रहेको जानकारी दिइएको छ । संस्थाले कर्जामा १८ प्रतिशत र बचतमा ९ प्रतिशत ब्याजदर कायम गरी कारोबार गरिरहेको बताइएको छ । साथै तीन लाखसम्म बिना धितो ऋण दिने सुविधासमेत रहेको शाखा प्रमुख सूर्य विष्टले जानकारी दिए ।
कार्यक्रममा सहभागीलाई हेटौंडा उपमहानगरपालिकाका देवेन्द्रबहादुर सिंहले कृषि तथा पशुपालनमा सरकारी निकायबाट हुने सहयोग तथा विभिन्न अनुदान कार्यक्रमको बारेमा जानकारी दिएका थिए । संस्थाको मकवानपुर शाखा प्रमुख सूर्य विष्टको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय योजना तथा अनुसन्धान विभागका प्रमुख बुद्धिराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि रहेकी प्रदेशसभा सदस्य कुमारी मोक्तानले विकास र समृद्धिको लागि ग्रामीण भेगमा कृषि र पशुपालनलाई बढवा दिनुपर्नेमा जोड दिइन् । संस्थाका क्षेत्रीय कार्यालय प्रमुख जमिर यादवको समेत सहभागितामा भएको गोष्ठीमा तीन वटा उत्कृष्ट केन्द्रलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
