बैंकमै भोटियो नेपाली नक्कली नोट, नक्कली नोट बनाउने गिरोहमा नेपाली सेनाकै कर्मचारी
गुल्मी, १५ फागुन । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताउनुभयो ।
फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन सजिलो बनाउनका लागि तारलाई बीचबीचमा काटेर नोटमा टाँसिएको छ ।
उक्त नोटमा टाँसिएको तारलाई सहजैरुपमा कोट्याएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ गर्ने क्रममा उक्त नोट अलि मोटो भएकोे महसुस गरेपछि अनुसन्धानको क्रममा सो नोट नक्कली पाइएको बताइएको छ ।
उक्त बैंकमा पहिलोपटक यस्तो नक्कली नोट भेटिएको बैंकका प्रबन्धक ्र रायमाझीले बताउनुभयो । कर्मचारीको सावधानीका कारण नक्कली नोट पत्ता लगाउन सफल भएको उहाँले जानकारी दिनुभयो । बैंकमा जम्मा गर्न पठाएको रकममा फेला परेको उक्त नोट कारोबारको क्रममा आफूले बजारका स्थानीयबाट प्राप्त गरेको र यसबारे आफूलाई कुनै पनि जानकारी नभएको बैंकमा नोट जम्मा गर्न आएका पाण्डेले बताउनुभयो ।
जिल्लामा पछिल्लो समयमा भित्रिएका यस्ता प्रकारका नक्कली नोट सहजैरुपमा बैंकमा पनि भित्रिसकेको अवस्थामा व्यवसायी पनि सजग हुनुपर्ने अवस्था सिर्जना भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो ।
यसैबिच पाँच सय र हजारका नक्कली नेपाली नोट सहित ६ जना पक्राउ परेका छन् । प्रहरीले धनुषाका धिरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरी बस्ने मनोज केसी, सोलुखुम्बु स्थायी घर हुने भेष कुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझीलाई काठमाडौंको बल्खु र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिएका छन् ।
जाली नोट सहित पक्राउ परेका भेष कुमार थापा नेपाली सेनाका कर्मचारी हुन् । केही दिनअघी मात्रै सैनिक मुख्यालयमा उनले राजिनामा पत्र बुझाएपछी उनको राजिनामा स्विकृत भैनसकेको स्रोतको भनाई छ ।
त्यस्तै नेमा तामाङ नेपाल प्रहरीका पुर्व जवान हुन् । पुर्व एआईजी राजेन्द्रसिंह भण्डारीको ड्राइभरको रुपमा लामो समय काम गरेका तामाङले केही समयअघी जागिर छाडेका थिए ।
