प्रविधिको प्रयोग गर्न महानगरलाई सुझाव

तु खबर संवाददाता
२०७४ पुष १३, बिहीबार १३:३९
सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले पोखरा लेखनाथ महानगरपालिको सेवा प्रवाहसहितका विषयमा गरेको अध्ययन सदाचार प्रतिवद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदन–२०७४ को प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा महानगरप्रमुख मानबहादुर जिसीलगायत । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

पोखरा, १३ पुस । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले पोखरा लेखनाथ महानगरपालिको सेवा प्रवाह लगायतका विषयमा गरेको अध्ययनले महानगरले सेवाको प्रभावकारिताका लागि प्रविधिको उपयोग गर्दै सेवालाई सरल, छिटो, पारदर्शी र जवाफदेही बनाउनुपर्ने निष्कर्ष निकालेको राससले जनाएको छ ।

तत्कालीन पोखरा उपमहानगरपालिका र सुनास कास्कीबीच २०७० साल भदौमा कार्यालयको काम–कारबाही, सेवा प्रवाह, स्रोत परिचालन लगायतका विषयमा जवाफदेहिता, पारदर्शिता तथा सदाचार अभिवृद्धिका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएअनुसार कार्यालयका काम–कारबाही भए/नभएको सम्बन्धमा गरिएको अध्ययनबाट महानगरभित्र सुशासन कायम गराउँदै सेवाको प्रभावकारिता वृद्धि गर्न अझै धेरै काम बाँकी रहेको सदाचार प्रतिबद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदन–२०७४ ले देखाएको छ ।

कार्यक्रममा पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुशासन एवम् भ्रष्टाचार न्यूनीकरणका लागि सबैमा सकारात्मक सोच अपरिहार्य रहेको बताउनुभयो । महानगरपालिकाभित्र जनशक्तिको अभावका साथै सबै वडाहरू प्रविधिको सहज पहुँचको अभावमा रहेका वास्तविकतामा सेवाग्राहीले प्राप्त गर्ने सेवामा ढिलासुस्ती भएको उल्लेख गर्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष श्रीहरि अर्यालले जनप्रतिनिधि चयन भइसकेकका अवस्थामा उनीहरूले सहज रुपमा काम गर्ने वातावरण निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नागरिकको जिम्मेवारीपनले सरकारी निकायलाई पनि जिम्मेवार बनाउने बताउँदै त्यसका लागि नागरिकको सचेतता अपरिहार्य हुने उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख यदु पन्थीले भ्रष्टाचार केवल आर्थिक लेनदेनमा मात्र नभई विभिन्न क्षेत्रमा हुने बताउँदै प्रत्येक व्यक्तिमा मनोगत रुपमा परिवर्तन नआउँदासम्म यसलाई नियन्त्रण गर्न नसकिनेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*