चर्चित पत्रकार खेम थपलिया रिहा

काठमाडौ, २६ मंसिरं । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियान अन्तर्गत पक्राउ परेका चर्चित पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियालाई सोमबार सरकारले रिहा गरेको छ ।
यही मंसिर १० र २१ गतेको निर्वाचन लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको निर्वाचन खारेजी अभियान अन्तर्गत गत मंसिर १ गते प्रगतिशिल लेखक संघको बैठक सकिएर निस्कदै गर्दा कार्यालयको गेटबाट संघका उपाध्यक्ष समेत रहेका पत्रकार थपलियालाई काठमाडौं प्रहरीले पक्राउ गरी टेकुस्थित थुनामा राखेको थियो । थपलियालाई झुठा मुद्दा लगाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक म्याद थप गर्दै हिराशतमा राख्दै आएको थियो ।
थपलियासहितका आठ पत्रकारलाई तत्काल थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो धरौटी रकम बुझाएर थपलिया रिहा भएका हुन् । थपलियासँगै अन्य दुई पार्टी सम्बद्ध कार्यकता समेत रिहा भएका छन् । थपलियाले रिहाई लगत्तै प्रतिक्रिया दिँदै पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियानले भारतीय साम्राज्यवादको मुटुमा प्रहार हुनेगरी निर्वाचन खारेजी अभियान सफल भएको बताउँदै आफ्नो रिहाईको लागि पहल गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।