गाउँगाउँमा मनाइयो अन्तराष्ट्रिय बालअधिकार दिवस

तु खबर संवाददाता
२०७४ मंसिर ५, मंगलवार १४:३३

मकवानपुर, ५ मंसिर । ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ ।’ चर्चित पुरानो बालगीत बज्न थालेपछि एक हुल बालबालिका गोठालेको भेषमा मञ्चमा देखा परे । मञ्चमा गाईबस्तुको आकृतिमा केही बालबालिकाले रोचक अभियन देखाए । पूरा बालगीत भर यी गोठालेले अभिनय गरे । गोठालो बनेका बालबालिकाले बालगीतमा दुरुस्त अभिनय पस्किएपछि दर्शकदीर्घाबाट वाहवाही र तालीको वर्षा पाइरहें । मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा आयोजित ‘मञ्च एक, प्रतिभा अनेक’ नामक जागरण मूलक कार्यक्रममा राईगाउँमा रहेको देवहित प्राविका कलिला विद्यार्थीहरुको बेजोड प्रस्तुतीले धेरैको ध्यान खिच्यो ।

बागमती गाउँपालिकाको राइगाउँ, बेतिनी, शिखरपुर र फापरबारीस्थित बाल संरक्षण समितिले संयुक्त आयोजना गरेको अन्तराष्ट्रिय बालअधिकार दिवश विशेष कार्यक्रममा राईगाउँ लगायत विभिन्न गाउँका बालबालिकाकाले आफ्ना प्रतिभा प्रदर्शन गरे । शिखरपुरका बालबालिकाले बालविवाह विरुद्घ नाटक, फापरबारी तथा बेतिनीका बालबालिकाले चेतनामूलक गीत, नृत्य तथा मन्तव्य प्रस्तुत गरी दर्शकको मन जिते । नोभेम्बर २० तारिखमा मनाइदै आइएको अन्तराष्ट्रिय बालअधिकार दिवस मकवानपुरको पूर्वीक्षेत्र फापरबारीमा बागमती गाउँपालिका स्तरिय जागरणमूलक सांस्कृतिक प्रदर्शनी आयोजना गरिएको हो ।

जिल्ला बालकल्याण समिति मकवानपुर र बालकल्याण समाज मकवानपुरको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा आयोजित ‘मञ्च एक, प्रतिभा अनेक’ कार्यक्रममा बालबालिकाको प्रतिभा प्रदर्शनी मात्र गरिएन बालअधिकारका विषयमा आम दर्शकलाई जागरुक बनाउँने काम समेत कार्यक्रमबाट भयो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सरिता विश्वकर्माले बालअधिकारको सवालमा स्थानीय तहले सरोकारवालासंग मिलेर काम गर्ने बताइन् । बालअधिकारबाट कोही पनि बालबालिका बञ्चित नहोउन् भन्नका लागि संघसंस्थाले गर्ने यस्ता जागरणमूलक कार्यक्रम प्रभावकारी बनेको उनले बताइन् ।

बालसंरक्षण समिति फापरबारीका अध्यक्ष समेत रहेका बागमती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष धनबहादुर योञ्जनले ग्रामिण क्षेत्रमा कतिपय बालबालिकाका तथा अभिभावक बालअधिकारबारे अझै वेखबर रहेकाले समाजमा जागरणमूलक अभियान आवश्यक परेको बताए । साथै उनले आफू जिम्मेवार निकायमा रहेकाले योजना बनाउँदा बालबालिकाको सवाललाई विशेष ध्यान दिन लागिपर्ने प्रतिबद्घता समेत व्यक्त गरे । कार्यक्रममा गाउँपालिकाका ६ वडा अध्यक्ष ध्रुव थापा, बाल कल्याण समाज मकवानपुरका सचिव ज्ञानेन्द्र बर्तौला, लेखा अधिकृत नवराज खनाल, फापरबारी बालसंरक्षण समितिका सचिव शङ्करकुमार पराजुली लगायतले बालबालिकालाई अधिकार प्रत्याभूतका लागि सवालमा बालबालिकाका, अभिभावक तथा समाज नै अग्रसर हुनुपर्नेमा जोड दिए ।

अन्तराष्ट्रिय बालअधिकार दिवसमा मकवानपुरका अन्य गाउँमा पनि बालकल्याण समाज मकवानपुर र जिल्ला कल्याण समिती मकवानपुरसंगको समन्वयमा स्थानीय बालसंरक्षण समितिको आयोजनामा जागरणमूलक कार्यक्रम गरिएका छन् । कैलाश गाउँपालिकाको गोगनेको कृष्ण निमाविमा देश विकासका लागि बालअधिकार, संरक्षण र कर्तव्य भन्ने बक्तृत्वकला, बोरा र खुल्ला दौड प्रतियोगिता गरिएको बालकल्याण समाज मकवानपुरकी सामाजिक कार्यकर्ता सिर्जना श्रेष्ठले जानकारी दिइन् । मकवानपुरको पदमपोखरीमा आयोजित हाजिरिवाफ प्रतियोगिताले विद्यार्थीको सामान्यज्ञानको रुची बढाउन मद्घत पुगेको सामाजिक कार्यकर्ता रामशरण दाहालले जानकारी दिए । भीमफेदीमा विद्यालयमा सबैभन्दा बढी उपस्थित विद्यार्थीलाई पुरस्कृत गरेर नियमित विद्यालय आउँन प्रेरित गर्ने काम गरिएको स्थानीय बाल संरक्षण समितिले जानकारी दियो ।

यस्तै, चुरियामाईमा भने विद्यालय भर्ना भएका बालबालिकाले विद्यालय छाड्ने कारण पहिचान गर्दै नियमित विद्यालय पठाउने वातावरण बनाउँनका लागि आवश्यक पर्ने कार्यबारे छलफल भयो । विद्यालय छाड्ने दर घटाउन सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा वक्ताहरुले नियमित दिवा खाजा व्यवस्था गर्नुपर्ने, बालविवाह, बहुविवाह निरुत्साहित गर्न सघाउने जागरणमूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याइएको सामाजिक कार्यकर्ता सानु थापा मगरले जानकारी दिए ।

उता, मकवानपुरको थाहा नगरपालिकाको बज्रबाराहीमा स्थानीय जनप्रतिनिधी, सहकारी र समुदायका अगुवालाई बालअधिकार, बालविवाह, बालश्रम, बालबेचविखन एवम् लैङ्गिक हिंसाका विषयमा अनुशिक्षण प्रदान गरिएको छ । थाहा नगरपालिका, जिल्ला बालकल्याण समिती, बालकल्याण समाज मकवानपुर, प्लान इन्टरनेशनल, मानव अधिकार रक्षक तथा मानव बेचविखन विरुद्घको सञ्जालको संयुक्त आयोजनामा अनुशिक्षण भएको हो । अनुशिक्षणमा बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले सहजीकरण गरेका थिए ।

२८ औँ अन्तर्राष्टिय बालअधिकार दिवसको उपलक्ष्यमा जिल्ला बालकल्याण समिति एवम् महिला तथा बालबालिका कार्यालय मकवानपुरको आयोजना एवम् सहयोगी हातहरुको समूह (सहास) नेपाल, आर आर एन नेपाल, सिविन बालहेल्पलाइन, इस्टर वेन्जामिन मेमोरियल फाउण्डेसन, बालकल्याण समाज, माइती नेपाल, शक्ति समूह लगायत संरक्षणको क्षेत्रमा काम गर्ने अन्य साझेदार संघसस्थाहरुको सहकार्यमा विविध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी निमित्त प्रमुख महिला विकास अधिकृत सरिता अधिकारीले स्वागत मन्तव्य, बालहेल्पलाइनका झविन्द्र ज्ञवालीले नेपालमा बालअधिकार आन्दोलनको ३० वर्ष विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने आर.आर.एन.को तर्फबाट किशोरी समुहले सचेतनामुलक नाटक प्रस्तुत गरेका थिए । त्यसैगरी बालमैत्री शासनः बालअधिकारको सम्मान विषयमा२०७४ कार्तिक ३० मा जिल्लाका स्रोत विद्यालयस्तरीय खुल्ला निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्तवना पुरस्कार प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा आर आर एन का किशोरी समूहले सचेतनामूलक नाटक प्रस्तुत गरेको थियो भने कार्यक्रममा उपस्थित विद्यार्थीहरुको लागि खुला हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमास्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, अन्य अतिथिहरुमा श्रम कार्यालयका प्रमुख नितेश्वर यादव, प्रहरी नायव उपरिक्षक दिलीपराज झा, हेटौडा उपमहानगरपालिकाका सामाजिक विकास प्रबन्धक भिमप्रसाद तिमल्सिना, प्लान इन्टरनेशनल नेपालका राम खत्री, पत्रकार महासंघका कोषाध्यक्ष सुदिप सिवाकोटी रहनुभएको थियो । कार्यक्रममा प्लान नेपालका राम खत्रीले बालबालिकाहरुको लागि लगानी बढाउनुपर्ने बताउनुभयो । प्रमुख अतिथि एवम् स्थानीय विकास अधिकारी मैनालीले बालबालिकाको लागि स्थानीय निकायले प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रमका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी खड्काले बालबालिकाहरुको अवस्था पहिलेको तुलनामा राम्रो रहेको र समग्र प्रगतिलाई अध्ययन गर्दा विकासोन्मुख नै रहेको बताउनुभयो ।कार्यक्रममा नगर बालक्लव सञ्जालका सचिव शशाङ्क पण्डितले पनि आफ्नो भनाइ राखेका थिए ।

जिल्लामा रहेका विभिन्न १० वटा स्थानीय तहमा पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय बालअधिकार दिवस सम्पन्न गरिएको थियो । जिल्लामा पहिलो पटक विकेन्द्रित रुपमा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा आफ्नो कार्य क्षेत्रमा गाउँ बालसंरक्षण समिति एवम् नगरपालिका तथा गाउँपालिकाहरुसँग समन्वय गरी यो दिवसको आयोजना गरेका थिए । जिल्ला बालकल्याण समितिलेसदरमुकाम केन्द्रित कार्यक्रमभन्दा पनि दुरदराजमा रहेका बालबालिकाका लागिगाउँपालिका एवम् नगरपालिका केन्द्रित कार्यक्रमहरु गर्न बढी ध्यान दिएको छ । जिल्लास्तरीय बालअधिकार दिवस कार्यक्रममा सहास नेपाल तथा आर.आर. एन. लगायत अन्य संघसंस्थाले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*