कम्बोडियाको प्रतिपक्षी पार्टीलाई फुकुवा गर्न अमेरिकाको दवाव
वासिङटनडिसी, १ मङ्सिर (रासस/एएफपी) / कम्बोडियोको अदालतद्धारा बिहीबार प्रतिबन्ध गरिएको पार्टीलाई तत्काल फुकुवा गर्न अमेरिकाले आह्वान गरेको छ ।
अदालतले कम्बोडिया नेश्नल रेस्क्यु पार्टी (सीएनआरपी) र त्यसका झण्डै एक सय जना नेताहरुलाई प्रतिबन्ध गर्न आदेश दिएको थियो ।
सत्तारुढ दल हुन सेनले सर्वोच्च अदालतलाई कडाइका साथ नियन्त्रणमा लिएको पनि वासिङटनले आरोप लगाएको छ । अमेरिकाले कम्बोडियामा तत्काल प्रजातन्त्र फर्काउन सरकारसँग आह्वान गर्दै सिएनआरपी र जबरजस्त नियन्त्रणमा लिइएको त्यस दलका नेता केम सोखालाई नियन्त्रणमुक्त गर्न पनि आग्रह गरेको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, “प्रतिबन्ध गरिएका प्रतिपक्षी पार्टी र सवै नेताहरुलाई तत्काल रिहा गर्नुपर्दछ, नागरिक समाज र संचार माध्यम तथा पत्रकारहरुलाई आफ्ना गतिविधिहरु स्वतन्त्रपुर्वक गर्न दिनुपर्दछ ।”
विगत ३२ वर्षदेखि शक्तिमा रहेका नेताहरूलाई हटाउनका लागि लडिरहेको ‘सीएनआरपीलाई अदालतले विघटन गरिदिएको हो । अदालतको आदेश सुनाउँदै एक न्यायाधीश दिथ मुन्टीले भन्नुभएको थियो, “सीएनआरपीलाई विघटन गर्ने र त्यस पार्टीका ११८ जना उम्मेदवारलाई फैसला भएको मितिदेखि पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध लगाउने निर्णय भएको छ ।”
अधिकारवादीहरूले अर्को वर्ष हुने निर्वाचनलाई अदालतलको आदेशले अवरोध पार्ने देखिएको बताएका छन् । प्रतिपक्षी दल तथा मानव अधिकारवादीहरूले भनेका छन्, “आदेशले स्वतन्त्र न्यायालयको खिल्ली उडाएको छ ।” “यो कम्बोडियोको लोकतन्त्रको मृत्यु हो,” ह्युमन राइट्स वाचका फिल रोबर्टसनले भन्नुभयो ।
